डोटीमा विवाह भोज खाएका माइती पक्षका ९० जना बिरामी

माघ ६, डोटी । डोटीमा विवाहको भोज खाएका ९० जना बिरामी परेका छन् । जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर १ टाँग भन्ने ठाउँमा विवाह भोज खाएका ९० जना बिरामी परेको आदर्श गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । शुक्रवार स्थानीय नर बहादुर विकको छोरीको विवाहको भोज खाएका माइती पक्षहरूमा स्वास्थ्य समस्या देखा परेको स्वास्थ्य शाखाका बम बहादुर खड्काले जानकारी दिए ।

स्वास्थ्यकर्मी खड्काका अनुसार शुक्रवार साँझ भोज खाएकाहरूमा ज्वरो आउने, वान्ता हुने, रिगंठा लाग्ने, पखाला लाग्ने, ढल्ने लगायतका समस्या देखा परेको छ । बिरामी ३० जनाको शनिवार (हिजो) र ६० जनाको आइतबार (आज) स्थानीय स्वास्थ्य चौकी बाझमा उपचार गरिएको खड्काले बताए ।

Sayalb

बिरामीहरूको उपचारमा गाउँपालिकाका एमबिबिएस डाक्टर सहित १३ जनाको टोली परिचालन गरिएको छ । बिरामीहरूमा अधिकांशलाई उपचार पश्चात् घर पठाइएको र केहीको उपचार जारी रहेको बताइएको छ । भोजमा सुजी (हलुवा) खाएकाहरूमा यस्तो समस्या देखा परेको र बिरामीहरूको नमुना परीक्षणका लागि जिल्ला अस्पताल डोटी पठाइएको खड्काले बताए ।

घटनाको जानकारी प्राप्त भएपछि सो स्थानमा आज साँझ प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दको कमान्डमा ७ जनाको प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।

Shaileshwori
Loading...