
माघ ९, डोटी । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) को नयाँ नेतृत्वको लागि माघ १२ गते निर्वाचन हुँदै छ । २३ औँ सम्मेलन अर्थात् निर्वाचन नजिकिएसँगै अनेरास्ववियु (क्रान्तिकारी) मा दौडधुप तीव्र बनेको छ । सहमतिको प्रयास असफल भएपछि अनन्त: निर्वाचन निश्चित भएको छ । विद्यार्थी नेताहरू निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेर चुनावी माहौल आफ्नो पक्षमा पार्न प्रचारप्रसारमा जुटेका छन् ।
जस अन्तर्गत अनेरास्ववियु (क्रान्तिकारी) का पूर्व केन्द्रीय सदस्य प्रकाश जैशी पनि खुल्ला केन्द्रीय सचिव पदका लागि उम्मेदवारी दर्ता गरी चुनावी प्रतिस्पर्धामा होमिएका छन् । एक दशकदेखि विद्यार्थी राजनीतिमा रहेका जैशी केन्द्रीय नेतृत्वमा आउन प्रयासरत छन् । विद्यार्थी आन्दोलन र सङ्गठनलाई सशक्त बनाउनका लागि उनले अखिल क्रान्तिकारीको केन्द्रीय सचिवका लागि उम्मेदवारी दिएको बताएका छन् ।
जैशीले सङ्गठनलाई चलायमान, मजबुत, लोकप्रिय र क्रान्तिकारी सङ्गठन निर्माण गर्न, शिक्षामा भएको व्यापारीकरण र दुई प्रकारको शिक्षा प्रणालीको अन्त्य गर्न केन्द्रीय सचिव पदमा उम्मेदवारी रहेको बताएका छन् । साथै निर्वाचित भएमा बेरोजगार उत्पादन गर्ने कारखानाको रूपमा रहेका विद्यालय, विश्व विद्यालयहरूका शिक्षालाई व्यावसायिक बनाउन पहलकदमी लिन, सबै खाले राजनीतिक अपराध र अराजकताको सशक्त प्रतिवाद गर्न, सडक बाघ सङ्गठन निर्माण गर्न भरपुर प्रयास गर्ने बताए ।
उनले विद्यार्थीका शैक्षिक मुद्दा र आम जनताका जनजीवनका सवालमा आवाज बुलन्द गर्न, राष्ट्रियता, स्वाधीनता र विकास, सुशासन, समृद्धि लगायतका प्रमुख मुद्दा बनाएर चुनावी मैदानमा होमिएको बताए ।

को हुन् जैशी ?
प्रकाश जैशी डोटी जिल्लाको केआईसिंह गाउँपालिका वडा नम्बर ६ फलेडीमा जन्मेका हुन् । फलेडी गाउँ २०६४ को चुनाव देखि माओवादी मय बन्न गयो । सानै देखि राजनीति र सामाजिक काममा अग्रसर रहने प्रकाशलाई त्यसको प्रभाव पर्यो । उनी त्यति बेला देखि माओवादीका गाउँ, जिल्लामा हुने कार्यक्रममा सहभागी हुन थाले ।
गाउँमा सामाजिक काम गर्दै गाविस स्तरीय बाल क्लबको अध्यक्ष भएर साबिकको भुमिराजमाण्डौ गाविसलाई खुला दिशा मुक्त घोषणा देखि बाल विवाह, अन्धविश्वास, भेदभाव, छुवाछूत लगायतका सामाजिक कुरीतिका विषयमा विभिन्न जनचेतना मूलक कार्यक्रम, विद्यालयहरूमा शैक्षिक र खेलकुद कार्यक्रमहरू, शैक्षिक सामग्री वितरण, सांस्कृतिक कार्यक्रम, गरेका थिए । सबै गाविसका वडाहरूमा बाल क्लब गठन गरी साङ्गठनिक क्षमता बनाए सँगै गाउँ समाजमा प्रकाशको नाम परिचित भयो ।
अखिल (क्रान्तिकारी)को २०६९ सालमा गाउँकै देवस्थल माध्यमिक विद्यालयमा अध्यक्ष भएर आफ्नो राजनैतिक यात्रा औपचारिक रूपमा सुरु गरेका प्रकाशले २०७० सालको निर्वाचनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । २०७१ सालमा दिल्पेस्वर उच्च माध्यमिक विद्यालय कमिटी अध्यक्ष हुँदै २०७१ सालकै ५ औँ जिल्ला सम्मेलनबाट जिल्ला कमिटी निर्वाचित भएका थिए । त्यस यता सङ्गठनमा नियमित काम गर्दै, २०७३ सालमा भएको स्वबियु निर्वाचनमा डोटी बहुमुखी क्याम्पसमा स्वबियु सह–सचिव जितेका थिए ।
त्यसपछि माओवादी एमाले एकता भई नेकपा हुँदा कार्यालय सदस्य भएका प्रकाश केपी ओलीको संसद् विगठन पछि आन्दोलनलाई गति दिन सङ्गठन सह–संयोजकको जिम्मेवारी दिइएको थियो । उनी सह–संयोजक भएपछि डोटी जिल्लामा आन्दोलन सशक्त भएको थियो । अदालतले एमाले माओवादी अलग अलग हुने निर्णय गरे पछि २०७७ सालमा प्रकाश अखिल (क्रान्तिकारी) को डोटी जिल्ला संयोजक भएका थिए । त्यसपछि आन्दोलन चर्काउने सँगै संगठानिक गतिविधि र रचनात्मक क्रियाकलाप सञ्चालन गरेका थिए । जिल्लाको सबै क्याम्पस, विद्यालयमा इकाई कमिटी गठन गर्दै स्थानीय तहका सम्मेलन गर्दै डोटी जिल्लामा उनकै नेतृत्वमा ऐतिहासिक ७ औँ जिल्ला सम्मेलन सम्पन्न भयो र उनलाई जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्यो ।
त्यस पछि गतिहीनतामा रहेको सङ्गठन गतिशील भयो । जिल्ला व्यापी सङ्गठन बिस्तार भयो । तमाम रचनात्मक क्रियाकलाप सञ्चालन भए । सबै माध्यमिक विद्यालय, क्याम्पसमा कमिटी गठन र सम्मेलन भए । सबै स्थानीय तहमा सङ्गठनका सम्मेलन भए । शिक्षामा रूपान्तरण गरिनु पर्छ, शिक्षालाई व्यावसायिक बनाउन अपिल गर्दै शैक्षिक रूपान्तरण नामक मुख पत्र प्रकाशन देखि तमाम शैक्षिक आन्दोलन र अन्तरक्रिया कार्यक्रम सञ्चालन भए । उनकै नेतृत्वमा ८ औँ जिल्ला सम्मेलन पनि सम्पन्न भयो । र त्यसपछि केन्द्रीय सदस्यमा मनोनीत भए ।
