
माघ १६, डोटी । डोटीको सिलगढीमा जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता सुरु भएको छ । पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयको आयोजनामा आज (बुधवार) बाट प्रतियोगिता सुरु भएको हो । सिलगढी स्थित टुँडिखेलमा सुरु भएको प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । आयोजकले प्रतियोगिताको उद्घाटन समारोहमा चर्चित क्रिकेट खेलाडीहरू नरेन साउँद, शेर मल्ल र भोजराज भट्टलाई अतिथिको रूपमा बोलाएको थियो ।
प्रतियोगिताको पहिलो दिन दुई खेल भएका छन् । पहिलो खेलमा आयोजक पद्म पब्लिक यूथ र भारतोली माध्यमिक विद्यालयका बिच प्रतिस्पर्धा भएको थियो । यो खेलमा पद्म पब्लिक यूथ विजयी भएको छ । त्यस्तै दोस्रो खेलमा दिल्पेश्वर माध्यमिक विद्यालय दिपायल र खत्याडी माध्यमिक विद्यालय चवराचौतारा बिच प्रतिस्पर्धा भएको थियो । यो खेलमा दिल्पेश्वर माध्यमिक विद्यालय विजयी भएको छ । प्रतियोगिता नकआउट चरणमा सञ्चालन भइरहेको छ । हारेका टिम प्रतियोगिताबाट बाहिरिने छन् भने विजयी टिम दोस्रो चरणमा प्रवेश गर्ने छन् ।

भोली पाँच खेल सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । मोर्निङ लाइट माध्यमिक विद्यालय र ब्रेनलाईट, आयोजक पद्म पब्लिक ब्वाइज र तेडी माध्यमिक विद्यालय, सुजङ बोर्डिङ स्कुल र हरिहर माध्यमिक विद्यालय, दिपायल एकेडेमी र सरस्वती माध्यमिक विद्यालय तथा शाजेन्द्रश्वर माध्यमिक विद्यालय र खप्तड माध्यमिक विद्यालयका बिच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिता माघ २० गते सम्म चल्ने छ । प्रतियोगिताको प्रथम पुरस्कार राशि नगद रु. ५५ हजार ५ सय ५५ र ट्रफी, द्वितीय पुरस्कार रु. ३३ हजार ३ सय ३३ र ट्रफी तथा तृतीय पुरस्कार रु. ११ हजार १ सय ११ रहेको छ । त्यस्तै म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, प्रत्येक खेलका म्यान अफ दि म्याच लगायतका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको छ ।
