
माघ २० डोटी । सेती नदी–६ (एसआर–६) जलाशययुक्त आयोजनाको ड्रिलिङ्गको काम सुरु भएको छ । आइतबार बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले ड्रिलिङ्ग कार्यको उद्घाटन गरेको बोगटान फुड्सिल गाउँपालिका–७ का वडा अध्यक्ष चन्द्रमान सुनारले जानकारी दिए । ४५० मेगावाट क्षमताको जलाशययुक्त आयोजनाको ड्याम बन्ने क्षेत्र र पावर हाउस बन्ने क्षेत्रमा आजबाट ड्रिलिङ्गको काम सुरु भएको भारतीय निर्माण कम्पनी एनएचपिसी लिमिटेडले बताएको छ । ड्रिलिङ्गको काम ३ देखी ४ महिनासम्म चल्ने बताइएको छ ।
ड्रिलिङ्ग कार्यका लागि निर्माण कम्पनीका इन्जिनीयरहरु सुरेश मिना र प्रमोद कौशिक लगायतको टोली आयोजना निर्माण स्थलमा खटिएका छन् । ड्रिलिङ्ग बहुउद्देश्यीय आयोजना निर्माण हुनु अघि गरिने भौगर्भिक अध्ययनका लागि महत्त्वपूर्ण मानिन्छ । ड्रिलिङ्ग गरी जमिनको विभिन्न गहिराइमा रहेको चट्टानको अध्ययनबाट त्यहाँको भुबनौट र संरचना निर्माणको उपयुक्तता जाँच गरिन्छ ।

ड्रिलिङ्ग कार्यको शुभारम्भ गर्दै बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले यो आयोजना सम्पन्न भएमा देशलाई ठुलो फाइदा हुने बताए । नेपाल सरकारको लगानीमा बन्न लागेको एसआर–६ आयोजनाको कामलाई तीव्रता दिन सरकाले ध्यान दिनुपर्ने अध्यक्ष गड्सिलाको भनाई रहेको छ । यो आयोजनाबाट सबैभन्दा बढी बोगटान फुड्सिल गाउँपालिकालाई फाइदा हुने अध्यक्ष गड्सिलाले बताए । अध्यक्ष गड्सिलाले आयोजनालाई स्थानिय सरकाले गर्नुपर्ने सहयोग भइरहेको र आगामी दिनमा पनि सहयोगमा कुनै कसुर बाँकी नराख्ने बताएका छन् । गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा निर्माण स्थलसम्म पुग्ने १५ किलोमिटर सडक निर्माण गरिसकेको छ ।
२०७९ भदौ २ गते एनएचपिसी कम्पनी र नेपालको लगानी बोर्डबिच यो आयोजना निर्माणको समझदारी भएको थियो । सेती नदी–६ जलाशययुक्त आयोजना डोटी र अछाममा पर्दछ ।
