
माघ २२, डोटी । बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र चवराचौतामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । मङ्गलवार वडा नम्बर ७ चवराचौतारामा रहेको ट्रान्सफर्मरमा बिजुली बालिएको छ । नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र दिपायल अन्तरगतको ११ केभी प्रसारण लाइनको विद्युत् चवराचौतारामा रहेको ट्रान्सफर्मरमा पुगेसँगै गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले स्विच अन गरेर उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र दिपायलका उत्तम धामीको उपस्थिति रहेको थियो ।

विद्युत्को उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गड्सिलाले पालिकाका ७ ओटै वडामा विद्युत् विस्तार गर्ने गरी काम भइरहेको बताएका छन् । विद्युत् विस्तारको काम प्राधिकरणबाटै भइरहेकाले कामलाई तीव्र बनाउनका लागि पालिकाले सहजीकरण र समन्वय गरिरहेको पनि अध्यक्षले बताए । उनले अबको केही दिनमै सिमचौर, सातफरी र धिर्कामाण्डौमा रहेको ट्रान्सफर्मरमा पनि बत्ती बालिने बताएका छन् । ठेकेदार कम्पनीले तीव्र गतिमा काम गरेमा अर्को पुससम्म पालिकाभर विद्युत् विस्तार हुने अध्यक्षको भनाई छ ।
हाल बोगटान फुड्सिल गाउँपालिकाको वडा नम्बर ६ गगुडामा मात्रै राष्ट्रिय प्रसारण लाइनको विद्युत् पहुँच रहेको छ । वडा नम्बर ४, ५ र ७ मा स्थानीय विद्युत् तथा वडा नम्बर २ को गराजुमा सोलार विद्युत्को पहुँच छ भने अन्य ठाउँमा बिजुली पुगेको छ । लामो समयसम्म बिजुली विस्तार नहुँदा यहाँका नागरिक आक्रोशित थिए । पालिका केन्द्रमा विद्युत् पुगेपछि नागरिकमा केही आशा पलाएको छ ।
