
माघ २५, डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । शुक्रवार बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ५ उपल्लागाउँका सुरेश बोहरा र वडा नम्बर ७ ओजेलीका निर्मल धामीलाई प्रशासनले घरमै गएर नागरिकता प्रदान गरेको हो ।
अशक्त भएका कारण नागरिकता लिन कार्यालयसम्म आउन नसक्नेहरूको सहजताका लागि घरमै गएर नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । प्रजिअ जोशीले भने, “हामीले एक जना मानसिक तथा शारीरिक र एक जना शारीरिक रूपमा अशक्त भएका व्यक्तिलाई नागरिकता दियौँ । उहाँहरूले पहिला बालक परिचयपत्रबाट सामाजिक सुरक्षा भत्ता पाइरहनुभएको रहेछ, अहिले नागरिकता पाउने उमेर भएको तर कार्यालयमा पुगेर नागरिकता लिन समस्या हुनेभएपछि घरमै नागरिकता उपलब्ध गराएका हौँ ।” राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट कुनै पनि नागरिक कुनै कारणले वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ उनिहरुको शारीरिक र आर्थिक समस्यालाई मध्यनजर गरी घरमै नागरिकता दिइएको प्रजिअ जोशीले बताए ।
नागरिकता प्राप्त गर्ने बोहरा मानसिक तथा शारीरिक रूपले र धामी शारीरिक रूपमा अशक्त व्यक्ति हुन् । गाउँपालिकाको सहजिकरणमा वडाबाट कागजात बनाएर प्रशासन कार्यालयमा आवश्यक प्रक्रिया पुरा गरेर घरमै नागरिकता उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले बताए । नागरिकता बनाउने उमेर पुगेका तर नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ता रोकिने अवस्था आएपछि प्रशासनसँग सहजीकरण गरिएको अध्यक्ष गड्सिलाले बताए । अपागंता भएकाहरूलाई जिल्ला सदरमुकाम गएर नागरिकता लिन आर्थिक र शारीरिक रूपमा अप्ठ्यारो हुनेभएपछि सहजीकरण गरिएको उनले बताए ।

घरमै नागरिकता पाएपछि सेवाग्राहीले खुसी व्यक्त गर्दै प्रशासन कार्यालयलाई धन्यवाद दिएका छन् । अपाङ्गता भएको छोराले नागरिकता पाएपछि निकै खुसी लागेको निर्मलकी आमा तुलादेवी धामीले बताइन् । नागरिकता प्रदान गर्ने टोलीमा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, गाउँपालिका अध्यक्ष कमल बहादुर गड्सिला, उपाध्यक्ष बिष्ना बम, जिल्ला प्रहरी प्रमुख बिनोद शर्मा लगाएतका व्यक्ति रहेका रहेका थिए ।
