खप्तडमा आउने पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरी परिचालित हुने

माघ २६, डोटी । भू स्वर्गका रूपमा परिचित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल खप्तड क्षेत्रमा पर्यटक प्रहरी एकाइ स्थापना हुने भएको छ । शनिवार खप्तड राष्ट्रिय निकुञ्जलाई आधार बनाइ पर्यटक प्रहरी एकाइ स्थापनाका लागि नेपाल सरकारको पर्यटन विभाग र डोटीको दिपायल सिलगढी नगरपालिका बिच सम्झौता भएको छ । नगरपालिकासँग सम्झौता गर्न पर्यटन विभागका कानुन अधिकृत सुस्मिता पाण्डेय र पर्यटक प्रहरीका प्रहरी निरीक्षक उमा केसी डोटी पुगेकी थिइन् ।

खप्तडमा पर्यटन प्रहरी परिचालन गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको २०८१ मङ्सिर १२ गतेको निर्णय अनुसार सम्झौता भएको हो । खप्तडका लागि पाँच जना पर्यटक प्रहरी परिचालन हुने भएका छन् । खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको सुरक्षित भ्रमण सुनिश्चित गर्नको लागि विभागले पर्यटन प्रहरी परिचालन गर्न लागेको विभागका कानुन अधिकृत सुस्मिता पाण्डेयले बताइन् । उनले यहाँ खटिने पर्यटन प्रहरीले खप्तड आउने पर्यटकको शान्ति सुरक्षाका लागि काम गर्ने र पर्यटक प्रहरीलाई विभाग र प्रहरीले सहयोग गर्ने बताइन् ।

Sayalb

सम्झौता पत्रमा हस्ताक्षर गर्दै दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्काले खप्तडमा पर्यटन प्रहरी परिचालन हुनु एक महत्त्वपूर्ण कार्य भएको बताएका छन् । यसअघि पर्यटकको सुरक्षामा चुनौती रहँदै आएकोमा प्रहरी खटिने हुँदा अब पर्यटकले ढुक्कले खप्तड घुम्न सक्ने खड्काले बताए । नगरपालिकाले पर्यटक प्रहरीलाई आवश्यक पर्ने सहयोग गर्ने पनि नगर प्रमुख खड्काले बताए ।

Shaileshwori
Loading...