
फागुन ६, सिलगढी । डोटीमा भिरबाट लडेर एक महिला घाइते भएकी छिन् । जिल्लाको के.आई.सिंह गाउँपालिका-४ खड्कावाडाकी ४० वर्षिया रम्भादेवी खड्का मङ्गलवार भिरबाट लडेर घाइते भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिउँसो करिब ३:१० बजेतिर घर नजिकैको केदारेश्वर सामुदायिक वनमा घाँस काट्ने क्रममा खड्का भिरबाट लडेकी हुन् । अन्दाजी २०/२५ मिटर तल खसेकी उनको मुख, चिउँडो, ढाड र दुवै खुट्टामा चोट लागेको छ ।
घाइते उनलाई स्थानीय वायल स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि सुजङ अस्पताल राजपुर ल्याइएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
