
तेजु ओली
फागुन ७, डोटी । नमादेब माध्यमिक विद्यालयलाई साउदकाडाका दुई जनाले एकै दीन ३ लाख ४४ हजार ४ सय ४४ रकम बराबरका अक्षयकोषका लागी रकम हस्तान्तरण गरेका छन् । विद्यालयको ५३ औँ वार्षिकोत्सवका दीन आदर्श गाउँपालिका वडा नं.२ निवासी भोजराज ओझाले दुई लाख २२ हजार दुई सय २२ र मान बहादुर खडकाले १ लाख २२ हजार दुई सय २२ रुपैयाँ बराबरका अक्षयकोष स्थापनाकालाई सहयोग हस्तान्तरण गरेका हुन् ।
उक्त विद्यालयका पूर्व विद्यार्थी समेत रहेका भोज राज ओझाले आफ्ना पिताको सम्झनामा स्वर्गीय बुवा डण्ठी राज ओझा र भागरती देवी ओझा स्मृति अक्षय छात्रवृत्ति कोष स्थापना गरेका हुन् । उनी मगलेग माध्यमिक विद्यालय तिखाका प्रधानाध्यापक समेत हुन् ।
त्यसै गरी नमादेब आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक समेत रहेका स्थानीय मान बहादुर खड्काले स्वर्गीय माता कलसी देवी खडकाको सम्झनामा स्व.कलसी देवी खडका स्मृति अक्षय कोष स्थापना गरेका छन् ।
बुधवार विद्यालयमा आयोजित कार्यक्रमको प्रमुख अतिथिको रूपमा रहेका सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री निर्मला साउदले शैक्षिक क्षेत्रमा सरकारको लगानी बढाउँदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने बताइन् । शैक्षिक क्षेत्रको सुधारका लागि शैक्षिक क्षेत्रमा लगानीको न्यूनता र अन्य बेथितिहरूले गर्दा समग्र शैक्षिक क्षेत्र कमजोर हुँदै गएको उनको भनाइ थियो ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथिको रूपमा रहेका सुदूरपश्चिम प्रदेशसभा सदस्य चक्र मल्लले चुनाव पूर्व गाउँका लागी बोलेका प्रतिबद्धता पुरा गरेको र गाउँमा माध्यमिक विद्यालय, सडक र पानीको व्यवस्था गरेकोले खुसी बाँड्न आएको बताए । अझै गुणस्तर र स्तर उन्नतिका लागी आफू जिम्मेवारी बोक्न आएको बताए । शैक्षिक क्षेत्रको विकासका लागि दाताहरूले गरेको उदाहरणीय कार्यको उनले प्रशंसा समेत गरेका छन् ।
कार्यक्रममा नेकपा एमाले डोटीका उपाध्यक्ष खगेन्द्र बडैला, आदर्श गाउँपालिका वडा नं.२ का वडाध्यक्ष रमेश साउद, गाउँपालिका शिक्षा शाखा प्रमुख पदम विष्ट लगायतका वक्ताले विद्यालयमा स्थापना गरेको कोषले शिक्षा क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताए ।
कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री निर्मला साउद, विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य चक्र मल्ल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश बहादुर साउदले रकम हस्तान्तरण कार्यक्रममा दाताहरूलाई सम्मान गरेका थिए ।
दाताले प्रदान गरेको रकम अक्षयकोषको रूपमा रहने र उक्त रकमको वार्षिक ब्याजबाट जेहनदार, गरिब तथा विपन्न विद्यार्थीलाई पुरस्कृत गरिने विद्यालयका प्रधानाध्यापक केशव ओझाले बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाश बहादुर साउदले कार्यक्रमको समापन गर्दै सो अवसरमा विद्यालयका लागी चौतर्फी रूपमा सहयोग गर्ने दाताहरूलाई धन्यवाद ज्ञापन गरे । वि.सं २०२८ सालमा स्थापना भएको विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून हुँदै गएको बताउँदै भौतिक पूर्वाधार निर्माण, आइटी, लाइब्रेरी, चर्पी, पर्याप्त खानेपानी, विद्यार्थी सुरक्षाको लागि विद्यालय हाता भित्र तार बार समेत नरहेकाले सरोकारवाला लाई सहयोग गरी दीन आग्रह गरेका छन् ।
अहिले अभिभावको आकर्षण समेत बढ्दै गइरहेको छ । उक्त कार्यक्रममा विद्यालयका गतिविधि, उपलब्धि, प्रगति विवरण प्रस्तुत गर्दै विभिन्न प्रतियोगितामा भाग लिएका सहभागीहरूलाई पुरस्कार समेत प्रदान गरेको थियो । स्थानीय, सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएका थिए ।
