
फागुन २२, डोटी । सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्टले विद्यार्थी, शिक्षक र अभिभावकको तालमेल नमिल्दा शिक्षामा राम्रो परिणाम आउन नसकेको बताएका छन् । बुधवार सहिद स्मृति आवासीय माध्यमिक विद्यालय राजपुरको १५ औँ वार्षिकोत्सव तथा अभिभावक भेला समारोहलाई सम्बोधन गर्दै भट्टले यस्तो बताएका हुन् ।

संस्थापक मुख्यमन्त्री भट्टले शिक्षक र अभिभावकले विद्यार्थीहरूको भावना, चाहना र रुचिलाई बुझ्न नसक्दा सरकारी विद्यालयको अवस्थामा सुधार आउन नसकेको बताए । उनले भने, “शिक्षा कस्तो हुने भन्ने चर्चा धेरै हुन्छ तर विद्यार्थी अगाडी छ अहिलेको दुनियाँमा विद्यार्थीले धेरै कुरा बुझी राखेको छ तर शिक्षक र अभिभावकले त्यो कुरा बुझिराखेका छैनन्, बुझ्न चाहिरहेका छैनन् अथवा हाम्रो दिमाग त्या सम्म पुगिराखेको छैन ।” विद्यार्थीको सिकाइको लागि शिक्षक, विद्यार्थी र अभिभावक बिच तालमेल हुनुपर्नेमा भट्टको जोड छ ।
राजनीतिज्ञ, नेपाल सरकारका कर्मचारी र बौद्धिक व्यक्तिहरूले पनि सरकारी विद्यालयमा आफ्ना छोराछोरीको भविष्य छ भन्ने कुरा बुझ्न आवश्यक रहेको भट्टले बताए । उनले भने, “विद्यालयमा जाने ठुला ठुला भाषण गर्ने तर विद्यालय कसरी चलेको छ थाहा छैन सरकारी विद्यालयमा आफ्ना बच्चालाई पढाउनै सक्दैनन् नेपालको अहिलेको समस्या यही हो ।” हैसियतमा पुगेको कुनै पनि व्यक्तिले सरकारी विद्यालयमा छोराछोरी पढाउने आट नगरेको भट्टको दाबी छ । सरकारी विद्यालयलाई विश्वास नगरेसम्म विद्यालयको गुणस्तरमा पनि सुधार आउन नसक्ने उनले बताए ।
