
चैत ३, डोटी । डोटीमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्री र मोटरसाइकल चालक घाइते भएका छन् । आइतबार दिउँसो ३ः४५ बजेको समयमा शिखर नगरपालिका–८ तिलतालि स्थित दिपायलबाट डडेल्धुरा जाँदै गरेको म ३ प १४६१ नम्बरको मोटरसाइकलले पैदल यात्री बालकलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको सूचना अनुसार दुर्घटनामा परि पैदल यात्री स्थानीय मदन ताम्राकारको ७ वर्षीय छोरा अन्जान ताम्राकार र मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीका २५ वर्षीय अमर सिंह चौधरी घाइते भएका छन् । घाइते बालकलाई उपचारका लागि डडेल्धुरा अस्पताल र मोटरसाइकल चालकलाई सुजङ्ग अस्पताल राजपुर पठाइएको प्रहरीले जनाएको छ । घाइतेहरूको अवस्था मध्यम रहेको छ ।
