
चैत २५, डोटी । सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारी आन्दोलित भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय सेवा ऐन जारी गर्नुपर्ने माग गर्दै उनीहरू आन्दोलित भएका हुन् ।
सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहका कर्मचारीहरू नियमित काम रोकेर आन्दोलनमा उत्रिएका हुन् । ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक–२०८१’ तत्काल जारी हुनुपर्ने उनीहरूको प्रमुख माग रहेको छ ।

यसै बिच डोटीको बोगटान फुड्सिल गाउँपालिकाले स्थानीय सेवा ऐन यथाशीघ्र जारी गरिदिनका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको छ । बोगटान फुड्सिल गाउँपालिकामा कार्यरत स्थानीय तह अन्तरगतका कर्मचारीहरूको अनुरोधमा मुख्यमन्त्री तथा प्रदेश प्रमुखको ध्यानाकर्षण गराइएको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले बताए ।
मुख्यमन्त्री तथा प्रदेश प्रमुखलाई सम्बोधन गर्दै अध्यक्ष गड्सिलाद्धारा जारी गरिएको पत्रमा भनिएको छ, “ सुदूरपश्चिम प्रदेश बाहेक अन्य सबै प्रदेशमा स्थानीय सेवा ऐन-नियम निर्माण भई कर्मचारी प्रशासन निक्कै अगाडी बढिसकेको तर यस प्रदेशमा हालसम्म पनि ऐन निर्माण नभएको कारणले स्थानीय सेवाका कर्मचारीहरूमा वृतिविकास तथा कर्मचारी प्रशासन सम्बन्धी व्यापक गुनासा र अप्ठ्याराहरू बढ्दै गएको सन्दर्भमा कर्मचारीहरूले चरणगत रूपमा दबाबमूलक आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको जानकारी गराए बमोजिम उक्त स्थानीय सेवा ऐन यथाशीघ्र जारी गरिदिनका लागि यस कार्यालयका कर्मचारीहरूको अनुरोधमा तहाँलाई ध्यानाकर्षण गरिएको ब्यहोरा अनुरोध छ ।”

