
चैत २८, डोटी । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । हावाहुरी, असिना पानीसँगै परेको चट्याङ लागेर गए राति जिल्लाको सायल गाउँपालिका–६ दल्लेखमा एक महिलाको मृत्यु भएको र सात जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार स्थानीय लहरी नागरीको घरमा चट्याङ पर्दा उहाँकी श्रीमती अन्दाजी ३३ बर्सिया कमला नागरीको मृत्यु भएको हो । घाइतेहुनेहरुमा लहरी नागरीकी १० वर्षकी छोरी तारा, ८ वर्षका छोरा अविशेक, ६ वर्षका छोरा अवि, ३ महिने छोरा शङ्कर नागरी रहेका छन् । त्यस्तै सोही ठाउँकी ४० बर्सिया तारा नागरी, ८० बर्सिया काली दमाई र भीम नागरीकी ६ बर्सिया छोरी खुसी नागरी पनि घाइते भएको प्रहरी उपशिक्षक शर्माले बताए ।
घाइतेहरूमा दुई जनाको अवस्था मध्यम छ भने अन्यको अवस्था सामान्य रहेको छ । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल डोटी ल्याउने पहल भइरहेको प्रहरीले जनाएको छ ।
