
सुबास नेपाली
चैत्र ३०, डोटी । डोटीको सिलगढीमा ३ दिने व्यावसायिक बाख्रा पालन सम्पन्न भएको छ ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा तीन दिने व्यावसायिक बाख्रा पालन तालिम सम्पन्न भएको हो ।
चैत्र २८ गते देखी ३० गते सम्म सञ्चालन भएको तालिममा व्यावसायिक बाख्रा पालनको परिचय, महत्त्व, बजार, रोग नियन्त्रण तथा प्रजनन व्यवस्थापन, हेरचाह, खोर व्यवस्थापन लगायतका विषयहरूमा प्रशिक्षण दिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख चन्द्रकान्त पन्तले बताए ।

समापन कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नरेश मलासीले पछिल्लो समय बाख्रा पालन व्यवसाय विपन्न वर्गको आय आर्जनको गतिलो श्रोतको बनिरहेको हुँदा यस तालिमले व्यवसायमा थप सहयोग पुग्ने बताए।
बाख्रा पालक कृषकहरूमा बाख्रा पालन सम्बन्धी सामान्य ज्ञान नहुँदा सोचे अनुरूप प्रतिफल लिन नसकिरहेको अवस्थामा यस तालीमबाट कृषकहरूलाई व्यावसायिक बाख्रा पालनमा सहयोग पुग्ने पनि कार्यालय प्रमुख पन्तले बताए ।
तालिम पाए सँगै आफूहरूलाई आधुनिक तरिकाले व्यावसायिक बाख्रा पालन गर्न सहयोग पुग्ने तालिममा सहभागीहरूले बताएका छन्। तालिममा कार्यालयले प्रदान गर्दै आएको सेवाका बारेमा पनि सहभागीहरूलाई जानकारी दिइएको थियो।
कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जिल्लाका २९ जना बाख्रा पालक कृषकहरूलाई उक्त तालीम दिइएको हो।
