
सुबास नेपाली
वैशाख १५, सिलगढी । डोटी जिल्लामा विपद् उद्धार तथा प्रतिकार्य “मनसुन–५“ को कृत्रिम घटना अभ्यास प्रदर्शन गरिएको छ । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ स्थित सेती नदिमा डोटी स्थित नेपाली सेनाको श्री भैरव प्रसाद गणको आयोजना तथा जिल्ला विपद् व्यवस्थापन समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी नं ३६ गण लगायतको समन्वयमा कार्यक्रम गरिएको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी परीक्षित देउजाले जानकारी दिए।

डोटी जिल्ला बहुपक्षीय विपद्को जोखिममा रहेको र समय समयमा गरिने यस्ता कृत्रिम अभ्यासले सम्भावित जोखिम न्यूनीकरण गर्न ठुलो भूमिका खेल्ने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए। बाढी प्रभावितहरूलाई तत्काल उद्धार तथा राहत कार्य प्रभावकारी रूपमा सम्पन्न गर्न, खबर सङ्कलन, योजना, फौजको तैनाथ, साधनको समुचित व्यवस्थापन तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग समन्वय गर्न प्रदर्शनीले ठुलो भूमिका खेल्ने प्रमुख जिल्ला अधिकारी जोशीको भनाई रहेको छ।
मनसुन नजिकिँदै आइरहेको अवस्थामा भारी वर्षाको कारण पहाडी भू–भागका खोला तथा नदी आसपासका बस्ती हरूमा बाढीको जोखिम हुने तथा पहिरो गई जनधनको ठुलो क्षति हुन सक्ने जस्ता प्राकृतिक बिपदबाट हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै आयोजना गरिएको घटना अभ्यासले बाढी आएको समयमा स्थानीय तथा सुरक्षाकर्मीहरूले स्थानीय श्रोत र साधनको समुचित प्रयोग गरी कसरी उद्धार गर्ने बारे जानकारी दिएको जिल्ला समन्वय प्रमुख लक्ष्मण बहादुर सिंहले बताए ।
मनसुन सुरु भए सँगै अघिल्ला वर्षहरूमा पनि बाढी र पहिरोका कारण डोटी जिल्लामा ठुलो जनधनको क्षति भएको तथ्याङ्क छ । डोटी स्थित भैरव प्रसाद गणले बिपद जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बिपद सम्बन्धी पूर्व तयारी र उद्धार सम्बन्धी जिल्लाका ९ वटै स्थानीय तहहरूका स्वयंसेवकहरूलाई तालिम पनि दिएको छ।
