
जेठ २, डोटी । मध्यपहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको अभियान आजबाट सुरु हुँदै छ । सुरु हुन लागेको जनतासँग माओवादी जागरण अभियानमा भाग लिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू नन्दकिशोर पुन पासाङ, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ लगायत नेताहरू यतिबेला सुदूरपश्चिम प्रदेशमा छन् ।
आज बिहान बैतडीको पाटनबाट अभियान सुरु हुन लागेको पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले जानकारी दिए ।
वैशाख २१ गते बसेको माओवादी पदाधिकारी बैठकले जेठ २ देखि १० गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियान १० गते पोखरामा समापन हुनेछ । त्यसपछि सरकारले संसदमा पेस गर्ने बजेटमाथि छलफलमा सहभागी हुने कार्य तालिका छ ।

अभियानमा सहभागी नेताहरु आज साँझ डोटी पुग्ने माओवादी केन्द्र डोटीका संयोजक कमल बहादुर गड्सिलाले जानकारी दिए । अभियान अन्तरगत भोलि बिहान ९ बजे डोटीको दिपायलमा जनसभा हुने संयोजक गड्सिलाले बताए । माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सहितको शिर्ष नेताहरुको टोली आज साझँ डोटी पुग्ने बताइएको छ ।
माओवादी केन्द्र डोटीका अनुसार साँझ ५ः३० बजे केन्द्रीय अभियान टोलीलाई डोटी र डडेल्धुराको सिमा कोरालखोलामा स्वागतका गर्ने र केन्द्रीय अभियान टोलीका सदस्यहरुलाई तोकिएको आवास स्थान सम्म पुर्याउने कार्यक्रम छ । जेठ ३ गते भोली बिहान ५ बजे देखी ६ बजे सम्म पिपल्ला, दिपायल देखि गोद्रेखोलासम्म मोर्निङवाक कार्यक्रम, बिहान ७ बजे देखी ८ बजेसम्म शहिद स्मृती आवासिय बिद्यालयमा शहिद परिवारसंग भेटघाट तथा शहिद स्मृती आवासीय बिद्यालय राजपुर डोटीको अनुगम र बिहान ८ देखी ९ बजेसम्म खुटिया दिपायल फास्ट ट्रयाक सडकको अवलोकन कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ । त्यस्तै बिहान ९ बजे देखि दिपायलमा जनसभा शुभारम्भ हुने संयोजक गड्सिलाले बताए । जनसभा पछि अध्यक्ष प्रचण्ड सहितको केन्द्रीय अभियान टोलीलाई ११ बजे अछामका लागि बिदाइ गरिने छ ।
