
जेठ १४, डोटी । बोगटान फुड्सिल गाउँपालिकामा ‘श्रमको सम्मान, आत्मनिर्भर गाउँपालिका’ भन्ने नारा सहित उद्यमी, व्यवसायी सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न सम्पन्न भएको छ । बुधवार गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा उद्यमी तथा व्यवसायीहरूलाई लक्षित गर्दै सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा रोजगार संयोजक गीता जिसी, कृषि प्राविधिक गणेश विष्ट र उद्यम शाखाका बाला सीँ कुडमालले सहभागी उद्यमी व्यवसायीहरूलाई व्यवसाय दर्ता प्रक्रिया, अनुदान सहयोग, वित्तीय साक्षरता तथा कर प्रणालीका विषयमा जानकारी दिएका थिए । साथै कार्यक्रममा उद्यमीलाई सम्मान गरिएको छ । विभिन्न उद्यम तथा साना व्यवसायमा संलग्न पालिका भरिका २२ जनालाई प्रमाणपत्र, खादा र दोसल्ला सहित सम्मान गरिएको रोजगार संयोजक गीता जिसीले जानकारी दिइन् । डोको नाम्ला बनाउने, आरन सञ्चालन गर्ने, सिलाइ बुनाइ गर्ने, मौरीपालन, फलफूल तथा तरकारी उत्पादन गर्ने जस्ता पेसामा संलग्न व्यक्तिहरूलाई कार्यक्रममा सहभागी गराउनुका साथै सम्मान गरिएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कमल बहादुर गड्सिला, उपाध्यक्ष बिष्ना बम, वडा अध्यक्ष, प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो । अध्यक्ष तथा उपाध्यक्षले परम्परागत व्यवसायलाई आधुनिकीकरण गरी थप आय आर्जन र रोजगारी सिर्जनामा योगदान पुर्याउनेतर्फ गाउँपालिका प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । साथै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै स्वरोजगारमा आधारित समृद्धिको दिशामा सरकार अघि बढेको उल्लेख गरे ।
कार्यक्रमको अन्तरक्रिया सत्रमा उद्यमी व्यवसायीहरूले आफ्ना माग, गुनासा तथा सुझावहरू राखेका थिए। उनीहरूले व्यवसाय सञ्चालनमा देखिएका व्यवहारिक समस्याहरूमा सहजीकरणको अपेक्षा व्यक्त गरेका थिए ।
