
गणेश बहादुर मौनी
जेठ १५, डोटी । डोटीको बडीकेदार गाउँपालिकाले लागु पदार्थ दुर्व्यसनी सम्बन्धी विद्यार्थी हरूलाई सचेतीकरण कार्यक्रम सम्पन्न गरेको छ । बडीकेदार गाउँपालिका महिला तथा बालबालिका शाखाले पालिका अन्तरगत रहेका मावि विद्यालयका बिद्यार्थिहरुलाई लागु पदार्थ दुर्व्यसनी , सामाजिक कुरुती, छाउपडी प्रथा, बालविवाह, बहुविवाह, लैङ्गिक हिंसा लगायतका विविध विषय बस्तुको बारेमा सचेतीकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको पालिकाले जनाएको छ ।
लागु पदार्थ दुर्व्यसनीको बारेमा आम नागरिकलाई जानकारी हुन आवश्यक रहेको प्रहरी चौकी खड्यौलीका इन्चार्ज विक्रम डगौराले बताए । वडा स्तरीय कार्यक्रममा सहभागी हुँदै प्रहरी चौकी इन्चार्ज चौधरीले गाउँघरमा लागु पदार्थ दुर्व्यसनीको प्रयोग र ओसार पसार संलग्न भए प्रहरीलाई खबर गर्न आग्रह समेत गरेका छन् । विद्यार्थी हरूले लागु पदार्थ दुर्व्यसनीको बारेमा जानकारी प्राप्त गरी सिकेका कुराहरू दैनिक जीवनमा आफू व्यवहारमा लागु गर्न र अरूलाई जानकारी गराउन महत्त्वपूर्ण जिम्मेवारी रहेको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बुढाले बताए ।

लागु पदार्थ दुर्व्यसनी दिनानुदिन दिन बढिरहेको अवस्थामा आम नागरिक, विद्यार्थी सबैलाई यस विषय बस्तुको बारेमा जानकारी दिन आवश्यक रहेको बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् । उनले भनिन लागु पदार्थ दुर्व्यसनी , सामाजिक कुरुती लगायतका विभिन्न विषय बस्तुको बारेमा बिद्यार्थिहरुलाई जानकारी गराई सचेतना फैलाउन गाउँ गाउँमा सचेतनामूलक अभियान सञ्चालन गरिएको समेत बताइन् । आगामी दिनमा सचेतनामूलक कार्यक्रमलाई पालिकाले निरन्तरता दिने समेत बताइन् । सबै वडा स्तरमा सञ्चालन गरिएको सचेतनामूलक कार्यक्रममा उपाध्यक्ष विष्ट कलेल आफै पुगेर लागूपदार्थ दुर्व्यसनी लगायतका विभिन्न विषय बस्तुको बारेमा जानकारी समेत गराएकी थिइन् ।
उपाध्यक्ष विष्ट कलेलले आम नागरिकले लागु पदार्थ दुर्व्यसनी, बालविवाह, छाउपडी प्रथा लगायतका समग्र विषय बस्तुको बारेमा जानकारी लिई व्यवहारिक जीवनमा लागु गर्न आवश्यक रहको समेत बताइन् ।
कार्यक्रम पालिका अन्तरगत सबै वडाहरूमा रहेका मावि विद्यालयका विद्यार्थी हरूको सहभागिता हुने गरी कार्यक्रमको आयोजना गरिएको बडीकेदार गाउँपालिका महिला तथा बालबालिका शाखामा कार्यरत कर्मचारी गरिमा क्षेत्रीले बताइन् । फरक फरक दिन र स्थानमा वडा स्तरमा आयोजना गरिएको सचेतीकरण कार्यक्रममा तिन सय भन्दा बढी विद्यार्थी हरूको सहभागिता रहेको समेत पालिकाले जनाएको छ । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, प्रहरी, पालिकाका कर्मचारी, पत्रकार लगायतले सहजीकरणको भूमिका निर्वाह गरेका थिए ।
