
तेजु ओली
असार ४, डोटी । डोटीको सिलगढीमा एक दिवसीय दलित समुदायको नेतृत्व तथा क्षमता विकास अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्तरमा गरिएका असल अभ्यासको आदान प्रदान, मानव अधिकार, अर्थपूर्ण सहभागिता, सहअस्तित्व र आत्मसम्मान भन्ने नाराका साथी बुधवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

दिगो विकास समाज नामक गैरसरकारी संस्थाको आयोजनामा र दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो । दिपायल सिलगढी नगरपालिकाले गरेका असल अभ्यासले सकारात्मक सोच बढोस् भन्ने हेतुले कार्यक्रम गरिएको संस्थाका अध्यक्ष कृष्ण विकले बताए । कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका–५ ले पहिला दलित समुदायको टोलको नामलाई परिवर्तन गरेर असल अभ्यासको सुरुवात गरेको बताए ।
त्यस्तै जातले गर्दा आफूलाई हीनता बोध हुने इच्छुक नागरिकलाई थर परिवर्तन गराएर असल काम गरेको दिपायल सिलगढी नगरपालिका वडा न ६ का अध्यक्ष नरेश मलासीले बताएका छन् । सबै समान हुन जातभातको कुरा आफू नस्विकार्ने भन्दै अन्याय परेको बेला आफू स्वयम उपस्थिति हुने बताए । कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका प्रमुख विजय खड्काले नगरपालिका भित्रका दलित समुदायको आयआर्जन, शिक्षा, सिप लगायत काममा स्थानीय तहले काम गरिरहेको बताए । दलित अधिकारकर्मीहरूले अनुभवहरू साटासाट गरेका थिए । नगर प्रमुख विजय खड्काको प्रमुख आतिथ्यमा, जिल्ला समन्वय समिति उपप्रमुख, वडा अध्यक्षहरू, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
