
असार १२, डोटी । डोटी जिल्ला सुदूरपश्चिम प्रदेशको पहिलो जिल्लाको रूपमा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराकासाथ आज (बिहिवार) डोटीलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको हो ।
जिल्ला खोप समन्वय समितिद्वारा सिलगढीमा आयोजित एक समारोहका बिच डोटी जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको स्वास्थ्य निर्देशनालय राजपुरका निर्देशक डाक्टर खगेन्द्र बहादुर बमले प्रमाणपत्र प्रदान गर्नुभयो । डोटी जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको पाँचौँ पटक हो ।
जिल्लाका नौ वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । जिल्लाका जन्मेदेखि ५९ महिनामुनिका बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाइएकाले डोटीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको प्रमुख मलासीले बताएका छन् ।

जिल्ला खोप समन्वय समिति डोटीका अध्यक्ष तथा जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सहयोग गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेविका, जनप्रतिनिधि, सङ्घसंस्था लगायत सबै सरोकारवालालाई धन्यवाद दिए । यो वर्ष प्रदेशकै पहिलो जिल्लाका रूपमा डोटीलाई घोषणा गर्न पाएकोमा खुसी व्यक्त गर्दै उनले पुरै स्वास्थ्यका क्षेत्रमा डोटीलाई पहिलो बनाउने गरी काम गर्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा खोप कार्यक्रमलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने नौ वटै पालिकाका एक/एक जना स्वास्थ्यकर्मी, नौ वटै पालिकाका स्वास्थ्य शाखा, स्वास्थ्य कार्यालय डोटीका एक जना कर्मचारी लगायतकालाई सम्मान गरिएको थियो । खोप कार्यक्रम सफल बनाउन सहयोग गर्ने संघ संस्था र व्यक्तिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको छ ।
यस वर्ष डोटीको पहिलो पालिकाका रुपमा शिखर नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको थियो । शिखर नगरपालिकालाई जिल्ला खोप समन्वय समितिका अध्यक्ष सिंहले जेठ २० गते घोषणा गरेका थिए । जेठ २२ गते आदर्श गाउँपालिका, २३ गते बोगटान फुड्सिल गाउँपालिका, २४ गते सायल गाउँपालिका र २९ गते बडीकेदार गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका थिए । त्यस्तै जेठ ३० गते दुई पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो । उक्त दिन दिपायल सिलगढी नगरपालिका र जोरायल गाउँपालिका, ३१ गते के.आई.सिंह गाउँपालिका र असार ५ गते पूर्वीचौकी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका थिए ।
