
असार १६, डोटी । डोटीमा धान दिवसको अवसर पारी छ जना किसान सम्मानित भएका छन् । कृषि ज्ञान केन्द्र डोटीले आइतबार जिल्लाका छ जनालाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । भीमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट जिल्लाका तीन जनालाई सम्मान गर्ने व्यवस्था भए पनि डोटीबाट यो वर्ष छ जनालाई सम्मान गरिएको कृषि ज्ञान केन्द्र डोटीका कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताउनुभयो । उहाँका अनुसार तीन जना किसानलाई नगद रु २५ हजार, दोसल्ला र प्रमाणपत्र सहित र तीन जनालाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको हो ।
नगदसहित सम्मान हुनेहरूमा दिपायल सिलगढी नगरपालिका–९ का काँसी साउँद, आदर्श गाउँपालिका–१ का मुकुन्द अवस्थी र जोरायल गाउँपालिका–१ गैराका सूर्य प्रकाश भट्ट रहनु भएको छ । त्यस्तै दिपायल सिलगढी नगरपालिका–३ बाँफीकी नेहा माझी, दिपायल सिलगढी नगरपालिका–७ का जगतबहादुर विष्ट र दिपायल सिलगढी नगरपालिका–५ का जय बहादुर शाही दोसल्ला र प्रमाणपत्र सहित सम्मानित हुनुभएको छ ।

भीमदत्त उत्कृष्ट कृषक पुरस्कार सम्बन्धी प्रकाशित सूचना अनुसार कृषि ज्ञान केन्द्र डोटी र भेटेरिनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्रमा आवेदन पेस भएका किसानहरूलाई छनोट गरी सम्मान गरिएको भेटेरिनरी अस्पतालका प्रमुख चन्द्रकान्त पन्तले बताउनु भयो । उत्कृष्ट किसान छनोटको लागि आवेदन परेका किसानहरूको घरमै गएर अवलोकन गरेर छनोट गरिएको उहाँले बताउनुभयो ।
सम्मान ग्रहण गर्दै ५० ओटा टनेलमा तरकारी खेती गरिरहनु भएका किसान मुकुन्द अवस्थीले सम्मानले थप जिम्मेवारी बोध गराएको बताउनुभयो । गरेपछि आफ्नै ठाउँमा राम्रो आम्दानी लिन सकिने भए पनि पूर्वाधारको कमी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले ठुलो मात्रामा तरकारी खेती गरेको छु, राम्रो फल्छ पनि । तर अब वर्षाको समय आएको छ यो समयमा उत्पादित तरकारी बजारमा पु¥याउन समस्या हुन्छ, सडकको राम्रो पहुँच छैन ।”
