
साउन ११, डोटी । गत वर्ष डोटी जिल्लामा रहेका सङ्घीय, प्रदेश र स्थानीय तहअन्तर्गतका सरकारी कार्यालयहरूले जम्मा विनियोजित बजेटको ८४ दशमलव ९६ प्रतिशत रकम खर्च गरेका छन् । आर्थिक वर्ष २०८१/८२ मा विनियोजित जम्मा बजेटमा यहाँका कार्यालयहरूले सात अर्ब ९१ करोड पाँच लाख ४५ हजार एक सय ४९ रुपैयाँ खर्च गरेका छन् । गत वर्ष नौ अर्ब ३१ करोड १२ लाख ९२ हजार नौ सय २४ रुपैयाँ बजेट विनियोजन भएको थियो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय डोटीका अनुसार एक अर्ब ४० करोड सात लाख ४७ हजार सात सय ७५ रुपैयाँ (१५.०४ प्रतिशत) बजेट खर्च हुन नसकी फिर्ता भएको छ । गत वर्ष चालु तर्फ ९० दशमलव ०४ प्रतिशत र पुजिगत तर्फ ७२ दशमलव ९५ प्रतिशत रकम खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय डोटीका सूचना अधिकारी पुष्करसिंह चाडले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यालयहरूको बजेट चालुतर्फ छ अर्ब ५४ करोड सात लाख ५२ हजार चार सय ६४ रुपैयाँ र पुजिगत तर्फ दुई अर्ब ७७ करोड पाँच लाख ४० हजार चार सय ६० रुपैयाँ रहेको थियो । चालुतर्फ पाँच अर्ब ८८ करोड ९३ लाख ४२ हजार सात सय ९७ दशमलव १८ रुपैयाँ र पुजिगत तर्फ दुई अर्ब दुई करोड १२ लाख दुई हजार तीन सय ५१ दशमलव ८२ रुपैयाँ खर्च भएको छ ।
आर्थिक वर्षको अन्तिम महिना असारमा जम्मा बजेटको १० दशमलव ०५ प्रतिशत अर्थात् ९३ करोड ६३ लाख २८ हजार छ सय ८५ रुपैयाँ आठ पैसा खर्च भएको छ ।
