
साउन १३, डोटी । कृषि ज्ञान केन्द्र डोटीले सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट सम्मानित भएको छ । आइतबारदेखि मङ्गलवार सम्म धनगढीमा सम्पन्न गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा कृषि ज्ञान केन्द्र डोटीले सम्मान पाएको हो ।
गत वर्ष सम्पादन कार्यहरूको उत्कृष्ट प्रस्तुति गरेबापत प्रदेशका नौ जिल्लाका नौ ओटै ज्ञान केन्द्रहरूमा कृषि ज्ञान केन्द्र डोटीले सम्मान पाएको हो । गोष्ठीमा वर्षभरि सम्पादन भएका कार्यहरू समेटेर तयार पारिएको प्रस्तुति ज्ञान केन्द्र प्रमुख गङ्गादत्त अवस्थिले प्रस्तुत गरेका थिए । गत वर्ष कृषि ज्ञान केन्द्र डोटी प्रदेशकै उत्कृष्ट बन्न सफल भएको छ । मन्त्रालयले प्रदान गरेको सम्मान पत्र कृषि ज्ञान केन्द्रका प्रमुख अवस्थिले ग्रहण गरेका हुन् ।

कार्यालय प्रमुख अवस्थिले कृषि ज्ञान केन्द्र डोटी प्रदेशमै उत्कृष्ट हुनुको श्रेय जिल्लाका किसान, कर्मचारी, विभिन्न पालिकाका कृषि शाखा प्रमुख, प्राविधिक तथा सहयोगी सारोकारवालाहरुलाई दिएका छन् । उनले भनेका छन्, “यस सम्मानको सम्पूर्ण विशेष श्रेय डोटी जिल्लाका लगनशील, मिहेनति, कर्मशील, जुझारु, वास्तविक कृषकहरू र कृषि शाखा प्रमुख तथा प्राविधिक ज्युहरू एवं कृषि ज्ञान केन्द्र डोटीका सम्पूर्ण कर्मचारीहरूलाई दिन चाहन्छु ।”
सम्मानले उच्च हौसला, थप काम गर्ने ऊर्जा, उत्प्रेरणा प्रदान गरेको अवस्थिले बताए । कार्यालय प्रमुख अवस्थिले मन्त्री, मन्त्रालयका सचिव, महानिर्देशकहरू र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई धन्यवाद दिएका छन् ।
