पाँच वर्षमा डोटीका ६० जनाले सवारी दुर्घटनामा ज्यान गुमाए

साउन १५, डोटी ।  डोटी जिल्लामा पाँच वर्षको अवधिमा सवारीसाधन दुर्घटनामा परि ६० जनाले अकालमा ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म ६० जनाको गाडी दुर्घटनामा परि मृत्यु भएको छ । मृत्यु हुनेमा ३८ जना पुरुष, १४ जना महिला, पाँच जना बालक र तीन जना बालिका रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीले जानकारी दिनुभयो ।

पाँच वर्षको अवधिमा ४५ ओटा सवारी साधन दुर्घटनामा परेका छन् । सबै भन्दा बढी ट्याक्टर दुर्घटना परेका छन् । ट्याक्टर १६, जिप १५, मोटरसाइकल सात, बस दुई, ट्रक दुई र अन्य तीन ओटा सवारीसाधन दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । यो अवधिमा एक सय छ जना घाइते भएका छन् । प्रहरीका अनुसार ५९ जना पुरुष, ३६ जना महिला, सात जना बालक र चार जना बालिका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा सात ओटा सवारी साधन दुर्घटना हुँदा १२ जनाको मृत्यु र नौ जना घाइते भएका छन् । पाँच ओटा जिप, एक ट्याक्टर र एक ट्रक दुर्घटना हुँदा १० जना पुरुष र दुई जना महिलाको मृत्यु भएको हो । आर्थिक वर्ष २०८०/८१ मा ११ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका थिए । यो वर्ष तीन ओटा जीप, चार ट्याक्टर एक मोटरसाइकल र एक अन्य गरि नौ ओटा सवारी साधन दुर्घटनामा परेका थिए । मृत्यु हुनेमा पाँच जना महिला, तीन जना पुरुष, एक बालक र दुई बालीका रहेका छन् ।

Sayalb

त्यस्तै आर्थिक वर्ष २०७९/८० मा तीन जिप, दुई मोटरसाइकल, दुई ट्याक्टर र एक ट्रक गरि आठ ओटा सवारी दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको थियो भने दश जना घाइते भएका थिए । यस वर्ष मृत्यु हुनेमा छ जना पुरुष, दुई जना महिला र एक बालक रहेका छन् । आव २०७८/७९ मा १३ ओटा सवारीसाधन दुर्घटनामा परेको प्रहरीको तथ्याङ्कमा छ । एक बस, दुई जिप, आठ ट्याक्टर, दुई मोटरसाईकल दुर्घटनामा परेका हुन् । यस वर्ष दुर्घटनामा परि नौ जना पुरुष, एक महिला, तीन जना बालक र एक बालिका गरि १४ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा पनि चार महिला र दश जना पुरुष गरि १४ जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ र ३७ जना घाइते भएका छन् । यस वर्ष एक बस, दुई जिप, दुई मोटरसाइकल, एक ट्याक्टर र दुई अन्य गरि आठ ओटा सवारीसाधन दुर्घटनामा परेका छन् ।

गुणस्तरहीन सडक, चालकको लापरबाही, सवारी साधनको कमजोर अवस्था, तीव्र गति तथा क्षमता भन्दा बढी यात्रु राख्नाले डोटीमा सावरी साधन दुर्घटना घटिरहेको प्रहरी निरीक्षक जोशीको भनाई रहेको छ । साथै ट्राफिक नियमको उल्लङ्घन, मादक पदार्थको सेवन गरी गाडी चलाउनु, यात्रु, पैदल यात्रु तथा सर्वसाधारणमा ट्राफिक चेतनाको कमीले पनि पढी दुर्घटना भइरहेको प्रहरी निरीक्षक जोशीले बताउनु भयो ।

दुर्घटना न्यूनीकरणका लागि नियमित ट्राफिक चेकिङ, राजमार्गमा पीकेट डिउटी मार्फत आकस्मिक चेक जाँच, सचेतना अभिवृद्धि अन्तर्गत सवारी चालक, यात्रु, पैदल यात्रु र सर्वसाधारणमा जनचेतना मूलक कार्यक्रम सञ्चालन, विद्यालय, कलेज र समुदाय स्तरमा ट्राफिक सम्बन्धी जनचेतना मूलक कार्यक्रम सञ्चालन, सडक सुरक्षा सम्बन्धी कानुनको कडाइका साथ कार्यान्वयन, लापरबाही पूर्वक सवारी साधन चलाउने चालकलाई जरिवाना र कारबाही गर्ने गरिएको तथा आवश्यक र व्यस्त क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थितिलाई सशक्त बनाइएको जिल्ला प्रहरी कार्यालय डोटी बताएको छ ।

Shaileshwori
Loading...