
साउन २३, डोटी । सामुदायिक विकास मञ्च (सिडिएफ) नेपाल डोटीले शिखर नगरपालिका किसानलाई दुई दिने तालिम प्रदान गरेको छ । नगरपालिकाको वडा नम्बर ४ का दुई वटा कृषक समूहका ३७ जनालाई जलवायु मैत्री कृषि व्यवसाय तथा बजारीकरणसम्बन्धी तालिम प्रदान गरेको छ ।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सिडिएफ नेपालले कार्यान्वयन गरिरहेको एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत प्राकृतिक खेती प्रणाली अवलम्बन गरी तरकारी उत्पादन गर्दै आएका किसानलाई बिहिवार र शुक्रवार दुई दिन तालिम दिइएको हो । तालिममा सहभागीलाई रासायनिक मल र विषादीले माटो, वातावरण र मानव स्वास्थ्यमा पार्ने असर, प्राकृतिक खेतीको प्रवर्द्धन, उद्यमशीलता, स्रोतको पहिचान, मागमा आधारित उत्पादन, स्थानीय बजार सर्वेक्षण, बाली मूल्य प्रवृत्ति अध्ययन, बाली पात्रो निर्माण, व्यावसायिक योजना, तरकारी टिपाइपश्चात्को व्यवस्थापन, भण्डारण, बजारीकरण, दिगो कृषि अभ्यास, जलवायु अनुकूलन, जोखिम व्यवस्थापन, वित्तीय व्यवस्थापन तथा रेकर्ड राख्ने तरिका सम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिएको परियोजना कार्यरत कृषि प्राविधिक नीरज बोगटीले बताए ।

श्री कालिका कृषक समूह र गौरीशङ्कर कृषक समूहका किसानलाई दिइएको परियोजना प्रमुख तथा कृषि प्राविधिक नीरज बोगटीले जानकारी दिए । उनका अनुसार परियोजनाअन्तर्गत ६ समूहका १२० किसानलाई तालिम दिने लक्ष्यअनुसार हालसम्म ३७ किसानले तालिम प्राप्त गरिसकेका छन् भने बाँकी ४ समूहलाई यसै महिनाभित्र तालिम दिइने योजना छ ।
