
भदौ ६, डोटी । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी हुन नसकेको बताउनुभएको छ । शुक्रवार डोटीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पौडेलले नागरिकलाई सहज स्वास्थ्य सेवा दिनको लागि स्वास्थ्य क्षेत्रमा सरकारले लगानी वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सरकारले स्वास्थ्य क्षेत्रमा कुल बजेटको १० प्रतिशत लगानी गर्नुपर्नेमा ५ प्रतिशत पनि लगानी हुन नसकेको जनाउनुहुँदै मन्त्री पौडेलले विकल्प खोज्नु पर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय मापदण्ड अनुसार १० प्रतिशत खर्च गर्नुपर्ने हो यहाँ राज्यको क्षमता छैन भन्ने गरिन्छ, यदि आफै लगानी गर्न सक्ने क्षमता राज्यको छैन भने वैकल्पिक उपाय के हो त !, सरकारले यो जिम्मेवारीबाट आफूलाई पन्छ्याउन सक्दैन ।” सरकारले लगानी गर्न सक्ने अवस्था नभएमा त्यसको विकल्पको लागि नागरिक लगानीमा आधारित बिमा प्रणालीको विकास गरेर सरकारले संवैधानिक व्यवस्था अनुरूप स्वास्थ्य सेवा उपलब्ध गराउन पर्ने प्रस्ताव आफूले गरेको मन्त्री पौडेलको भनाई छ ।

मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा १० प्रतिशत लगानी गर्न स्थानीय सरकार र प्रदेश सरकारलाई आग्रह पनि गर्नु भएको छ । उहाँले भन्नु भएको छ, “म स्थानीय तहका साथीहरूलाई आग्रह गर्छु तपाईँको कुल बजेटमा बाटो कटौती गरेर भए पनि लगानी गर्नुस्, १० प्रतिशत स्वास्थ्य क्षेत्रमा अनिवार्य रूपमा लगानी हुनुपर्छ, प्रदेश सरकारको पनि १० प्रतिशत लगानी हुनुपर्छ ।”
यस्तै मन्त्रालय र स्थानीय तहको संयुक्त लगानीमा भवन निर्माण भई हस्तान्तरण भएका आधारभूत अस्पतालको सञ्चालनको लागि भदौ महिनाभित्र एक करोड रुपैयाँ उपलब्ध गराइने मन्त्री पौडेलले बताउनुभएको छ । त्यसपछि मन्त्रालयले मेडिकल अधिकृतको व्यवस्थागरि दिने भएको छ ।
