
परिचय
इम्बोस नम्बर (Embossed number plat)प्लेट भन्नाले धातुमा अङ्क तथा अक्षर उक्काएर बनाइने, टिकाउ र सुरक्षित नम्बर प्लेटलाई भनेर विकसित देशहरूले प्रयोगमा ल्याएको प्रणाली हो । पछिल्ला वर्षहरूमा यसमा RFID चिप जडान गरी यसलाई अझ स्मार्ट र प्राविधिक युक्त बनाइएको छ। नेपाल सरकारले २०७४ सालदेखि यसलाई चरणबद्ध रूपमा लागू गर्ने निर्णय गरेको भए पनि यसको कार्यान्वयन ढिलो र विवादित हुँदै अदालत सम्म पुगेर रोकिएको विषय थियो ।
सरकारी तयारी
हाल आएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ । मन्त्रालयले यही असोज १ गतेबाट लागू गर्ने भन्दै केही तर्क पेस गरेता पनि लागू गर्न कम चुनौती छैन । ती तर्कले मात्र लागू गर्न पर्याप्त आधार पुग्दैन । पेस गरेका तर्क वा आधारलाई एक चोटि हेरौँ ।
१) गाडी चोरी वा अपराधमा संलग्न भएमा सजिलै ट्र्याक गर्न सकिने ।
२) सबै गाडीको विवरण डिजिटल प्रणालीमा रहने भएकोले कर छल्ने सम्भावनामा कमी ।
३) ट्राफिक प्रणालीलाई व्यवस्थित बनाउने ।
४) नेपाल आधुनिक प्रविधि अपनाउने देशहरूको सूचीमा उभिन्छ।
सामान्यतया यी आधारलाई नकार्न नसकिए पनि यस प्रणालीले पार्ने नकारात्मक प्रभावलाई कम नजरअन्दाज गर्न सकिन्न । एक चोटि यसलाई पनि हेरौँ ।
समस्या वा चुनौती
१) वैदेशिक निर्भरता – इम्बोस्ट नम्बर प्लेट नेपालमा बनाउन सकिने अवस्था छैन । अन्य देशसँग ठेक्का गर्दा स्वदेशी सीप र स्रोतको उपयोग नहुने र ठेक्का प्राप्त गर्ने कम्पनीप्रतिको विश्वसनीयता, नेपाली रुपैयाँ बिदेसिने , ढिला सुस्ती र गोपनीयता भङ्ग हुने निश्चित छ ।
२) महँगो शुल्क – अहिलेको आर्थिक अवस्थाले नम्बर प्लेटका लागि मात्र २५००/३५०० सुल्क जनतालाई महँगो हुन जान्छ ।
३) प्राविधिक समस्या – ग्रामीण क्षेत्र इन्टरनेट र बिजुली आदिमा आत्मनिर्भर छैन । इम्बोस्ट नम्बर प्लेट सङ्ग जडान गरिएको RFID चिप पढ्न स्क्यान गर्न नेटवर्क चाहिन्छ । स्क्यानर , क्यामेरा , डेटा र सर्भर जस्ता प्रणालीले निरन्तर विद्युत् र इन्टरनेटको माग गर्दछ । सबैतिर इन्टरनेट र ट्राफिक मोनिटरिङ्ग प्रविधिको उपलब्धता भइसकेको छैन ।

४) मेसिनरी उपकरणको समस्या – गाडीमा RFID नम्बर प्लेट स्क्यान गर्न विशेष उपकरण चाहिन्छन् जो नेपालमा पर्याप्त मात्रामा उपलब्ध छैन त्यो पनि विदेशीकै भर पर्नु पर्ने हुन्छ ।
५) मर्मत , प्राविधिक जनशक्ति र डेटा सुरक्षा – यस्तो प्रविधि सञ्चालन , मर्मत गर्न दक्ष तथा प्रशिक्षित जनशक्ति चाहिन्छ तर नेपालमा दक्ष जनशक्तिको पर्याप्तता देखिँदैन र गाडीमा
RFID चिप राखिने हुँदा गाडीको सम्पूर्ण विवरण र व्यक्तिगत डेटा चोरिने वा ह्याक हुने सम्भावना पनि जीवितै रहन्छ ।
६) भाषिक र सांस्कृतिक असर ।
लिपि केवल सञ्चारको माध्यम मात्र होइन सांस्कृतिक पहिचानको चिन्ह पनि त्यसैले भाषाको प्रयोग घट्दा सांस्कृतिक चिन्ह र मान्यता पनि कमजोर हुँदै जान्छन्।
नेपाली भाषाको देव नागरिक लिपिलाई बिर्सँदै रोमन script मा लेख्ने चलन ह्वात्तै बढेको छ । नयाँ पुस्तामा सामाजिक सञ्जालको बढ्दो प्रयोग सङ्गै नेपाली भाषामा भावनात्मक अभिव्यक्ति शब्दमा भन्दा चिन्ह मार्फत व्यक्त गर्ने प्रचलन व्यापक छ । जस्तै इमोजी ( 👍️💪😅) र छोटकरीमा hlo, um xa प्रयोग, दैनिक जीवनमा जबरजस्त प्रयोगमा आएका तर विकल्प नहुने शब्दहरू जस्तै password, login, update, like आदि को प्रयोग, विकल्प हुँदा हुँदै पनि प्रयोग नगर्ने बानी परि सकेकाले जस्तै exam ko tayari ma bg xu आदि। जस्ता शब्दले नेपाली भाषालाई प्रत्यक्ष असर गरिरहेकै देखिन्छ ।
प्रविधिको विकासले नेपाली भाषालाई AI विश्व सङ्ग जोड्ने र नयाँ शब्द थप्ने अवसर त दिएको छ । तर अत्यधिक भाषिक निर्भरताले भाषिक शुद्धतामा कमी र सांस्कृतिक पहिचान कमजोर हुने उत्तिकै जब्बर देखिन्छ ।
नेपालको कानुनले सरकारी कामकाजमा नेपाली भाषाको प्रयोग गरिनेछ भनेको छ । यसले कानुनी बाधा पुर्याउने देखिन्छ । इम्बोस्ट नम्बर प्लेटको भाषा नै परिवर्तन गर्नु पर्ने भएकोले सवारी साधन सञ्चालन निर्देशिका नै प्रभावित हुन्छ । यसको असर ट्राफिक चिन्ह, सङ्केत ,भाषा, लिपि, लोकल चालक र लाटा पैदल यात्रीमा पर्ने नै छ ।
यो प्रणाली प्रायः अङ्ग्रेजी अङ्क र अक्षरमा मात्र प्रयोग हुने भएकाले नेपाली भाषा र लिपिको प्रयोग घट्ने सम्भावना छ । सवारी चिन्न नेपाली लिपि (देवनागरी) भन्दा अङ्ग्रेजीलाई प्राथमिकता दिइनुले भाषिक असमानता झल्काउँछ । यसले बिस्तारै नेपाली भाषाको प्रयोगमा कमी ल्याउने खतरा देखिन्छ । त्यसको प्रत्यक्ष असर सरकारी र कानुनी दस्ताबेजमा पर्नेछ ।
निष्कर्ष
इम्बोस्ट नम्बर प्लेट प्रणालीको प्रयोगले ट्राफिक व्यवस्थापन, सुरक्षा र डिजिटल आधुनिकता जस्ता केही सतही फाइदा देखिए पनि भाषा र सांस्कृतिक पहिचानको दृष्टिले दीर्घकालीन असर र व्यक्तिगत गोपनीयतामा गम्भीर सङ्कट ल्याउन सक्छ।साथै नेपाली लिपि र भाषाको प्रयोग घट्ने, सांस्कृतिक चिन्ह कमजोर हुने र नयाँ पुस्तामा भाषा–संस्कृति प्रति ज्ञान कम हुने खतरा छ।
सरकारी दस्ताबेज, ट्राफिक सङ्केत, स्थानीय परिचालन र कानुनी प्रक्रिया पनि प्रभावित हुने देखिन्छ । प्राविधिक, आर्थिक र विदेशी निर्भरता सम्बन्धी चुनौतीहरूको समाधान र देबनागरिक लिपिको प्रयोग नभएसम्म नेपालमा यो प्रणाली लागू गर्नु व्यवहारिक र दिगो हुने देखिँदैन ।
त्यसले इम्बोस्ट नम्बर प्लेट लागू गर्नु पूर्व नेपाली भाषा लिपि, स्वदेशी प्रविधि र पारदर्शिता सुनिश्चित गर्नुपर्छ। यसरी मात्र यो प्रणाली राष्ट्रिय हित र आधुनिकताको सन्तुलनमा प्रभावकारी साबित हुन सक्छ।
✍️लेखक – विमल सी
