

निर्माण व्यवसायी संघ डोटीको बिवाद प्रमुख जिल्ला अधिकारीसम्म पुगेको छ ।
तोकिएकै समयमा अधिवेशन नभएपछि निर्माण व्यवसायीहरुले सहजीकरण गरिदिन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन् । संघको आठौं अधिवेशन २०७८ चैत १९ सम्पन्न भएको थियो । तीन वर्षको कार्यकाल २०८१ चैत १९ सकिएपनि अधिवेशन हुन नसकेपछि सहमतिमा ६ महिना म्याद थपिएको थियो । जस अनुसार २०८२ भदौभित्र अधिवेशन गरिसक्नु पर्ने थियो । तर मंसिर जानलाग्दा समेत अधिवेशन नभएपछि निर्माण व्यवसायीहरुको एक समूहले सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालय डोटीमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
संघको विधानमा कार्यसमितिको पदावधि सकिएको बढीमा २ महिनाभित्र साधारणसभा अनिवार्य बोलाएर नयाँ समिति चयन गरिनुपर्ने भन्ने व्यवस्था छ । तर कार्यसमितिको अवधी सकिएको एक बर्ष बित्दा समेत अधिवेशन हुन नसकेको ज्ञापन पत्रमा उल्लेख छ ।
कार्यसमितिका ५/७ जना जम्मा पारेर मनोमानी निर्णय गर्ने गरेको भन्दै संघका पूर्व कार्यवाहक अध्यक्ष एवं पूर्व प्रदेश सदस्य रमेश खडायत नेतृत्वको टिमले ज्ञापन पत्रमा आरोप लगाएको छ ।
