

नेकपा (एमाले) का नेता दिर्घराज बोगटी आगामी प्रतिनिधि सभा निर्वाचनका लागि डोटीबाट एक बलिया दाबेदारका रूपमा अगाडि देखिएका छन्। स्थानीय तहमा नेतृत्व गर्दै विकासका ठोस परिणाम देखाइसकेका बोगटीलाई अनुभवी, कार्यसम्पादनमा आधारित र नीतिगत स्पष्टता भएका नेताका रूपमा हेरिँदै आएको छ।
वि.सं. २०७४ देखि २०७९ सम्म पुर्बिचौकि गाउँपालिकाको अध्यक्षका रूपमा कार्यरत रहँदा बोगटीले स्वास्थ्य, ऊर्जा, पूर्वाधार, प्रशासनिक सुधार र पर्यटन विकासलाई प्राथमिकतामा राखेर काम गरेका थिए। उनका कार्यकालमा १० शैयाको अस्पताल स्थापना भई दुर्गम क्षेत्रका नागरिकले गाउँमै स्वास्थ्य सेवा पाउन थालेका छन्।
ऊर्जा क्षेत्रमा गंण्डिगाड हाइड्रोपावर आयोजना (१.५ मेगावाट) अघि बढाइयो भने गाउँपालिकाका १ देखि ७ वटै वडामा विद्युत् विस्तार गरी उज्यालो पालिका निर्माण गरिएको थियो। यसका साथै गाउँपालिकाको प्रशासनिक भवन निर्माण भई सेवा प्रवाह थप व्यवस्थित बनेको छ।
पूर्वाधार विकासतर्फ करिब ४० करोड रुपैयाँ लागतमा सानागाउँ–गाजरी पोखरी सडक निर्माण गरिएको छ, जसले स्थानीय आवागमन सहज हुनुका साथै आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पारेको छ। यस्तै, रान्ढुगा पर्यटकीय धार्मिक क्षेत्र निर्माणका लागि करिब ५ करोड रुपैयाँको परियोजना अघि बढाइएपछि धार्मिक तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा योगदान पुगेको छ।
बोगटी विकासका योजनाकार मात्र नभई लेखक र चिन्तकका रूपमा पनि परिचित छन्। उनका ‘हाम्रो संस्कृति तथा पर्यटन सम्भावनाको एक झलक’, ‘परिवर्तनका श्रृंखला’ र ‘जुनकीरी’ भाग–१ जस्ता पुस्तकहरू पाठकबीच चर्चित छन्। यी कृतिहरूमा संस्कृति, पर्यटन, सामाजिक रूपान्तरण र विकासको सम्भावनालाई व्यवहारिक दृष्टिले प्रस्तुत गरिएको छ।
अन्तर्राष्ट्रिय अभ्यास र अनुभव लिन उनले जर्मनी, अष्ट्रिया, फ्रान्स, बेल्जियम, स्विट्जरल्यान्ड, नेदरल्याण्ड, टर्की, चीन, थाइल्याण्ड (बैंकक) र इन्डोनेशिया लगायतका मुलुकको भ्रमणसमेत गरेका छन्।
देशमा बढ्दो बेरोजगारी, युवा पलायन र आयातमुखी अर्थतन्त्रप्रति गम्भीर चिन्ता व्यक्त गर्दै बोगटीले अबको राजनीतिक निकास युवा रोजगारी, सुशासन र उत्पादनमुखी अर्थतन्त्र मा केन्द्रित हुनुपर्ने बताउँदै आएका छन्। उनका अनुसार विकासलाई डिजिटल प्रणाली, कृषि र पर्यटनको एकीकृत मोडेल र Water Multiple Use System जस्ता अवधारणासँग जोडेर अगाडि बढाउनुपर्छ।
स्थानीय स्रोत–साधनको अधिकतम प्रयोग, कृषिमा प्रविधि, ज्ञान र सीपको प्रयोग गर्दै उत्पादन वृद्धि गरी आयात घटाउने र निर्यात प्रवर्द्धन गर्ने नीतिले मात्र बसाइँसराइ रोक्न सकिने बोगटीको धारणा छ।
स्थानीय तहमा देखिने गरी विकासको नेतृत्व गरिसकेका, विचार र व्यवहार दुवै पक्षमा सक्रिय दिर्घ बहादुर बोगटी आगामी प्रतिनिधि सभा निर्वाचनमा डोटीबाट एमालेका तर्फबाट विश्वसनीय, बौद्धिक र प्रभावशाली उम्मेदवारका रूपमा उदाउँदै गएका छन्।
