
माघ ८, डोटी । सामुदायिक रेडियो स्मार्ट एफ.एम. डोटीको सानो सहयोग अभियान अन्तरगत सहयोग रकम हस्तान्तरण गरिएको छ । डोटीको पुर्विचाैकी गाउँपालिका वडा नं.४ सानागाउकाे वीरधन निवासी नारायण सिंहलाई ७३ हजार दुई सय ४५ रुपैयाँ सहयोग रकम बिहीबार हस्तान्तरण गरिएको हो ।
गत पुस १७ गते नारायण सिंहको पारिवारिक अवस्था सामुदायिक रेडियो स्मार्ट एफ.एमकाे आधिकारिक फेसबुक पेजबाट प्रसारण गरेर एफ.एमका प्रबन्ध निर्देशक दीपेन्द्र खड्काले सानो सहयोग अभियान सञ्चालन गरेका थिए ।

देश तथा विदेशमा रहनु भएका ५२ जना सहयोगी दाताहरू द्वारा सङ्कलित रकम सिंहलाई उनकै घरमा गएर हस्तान्तरण गरेको प्रबन्ध निर्देशक खड्काले बताए । रकम हस्तान्तरण गर्दै खड्काले भने रेडियो ध्वनि तरङ्गको साथी मात्र नभएर समाजमा लुकेर ,दबेर रहेका आम मानिसको सुख दुखकाे साथी पनि हुनु पर्ने भन्दै रेडियोले समयअनुसारको प्रविधिको प्रयोग गरेर समाज भित्रका सबै गतिविधिहरूमा प्रत्यक्ष संलग्न हुनु पर्ने बताए ।
सहयोग रकम बुझ्दै सिंहले पत्रकार दीपेन्द्र खड्काले आफ्नो आवाज र यथार्थता सबै सामु पुगाएर देश तथा विदेशमा रहेर दुखसुख गरेर कमाउनु भएको रकम आफूलाई सहयोग गर्ने समपूर्ण महानुभावलाई धन्यवाद व्यक्त गर्दै यो रकमबाट आफ्नो दैनिकी सहज हुने बताए । ७१ बर्सिया नारायण सिंहका ६ जना परिवार मध्य ४ जना परिवार मानसिक सन्तुलन बिग्रिएका र परिवार सामाजिक सुरक्षाकै भरमा जीविकोपार्जन गर्दै आइरहेका छन् ।
