

२७ माघ, डोटी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै ६ दिनसम्म सार्वजनिक बिदा दिन बझाङको साईपाल गाउँपालिकाका युवाहरुले माग गरेका छन् ।
निर्वाचनमा मतदाताहरुको उल्लेख्य सहभागिता वढाउनका लागि फागुन १८ गतेदेखि २३ गतेसम्म सार्वजनिक बिदा दिन आवश्यक रहेको उनीहरुको माग छ । युवाहरुले ईमेलमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाएका छन् । ‘प्रतिनिधि सभाको निर्वाचन केवल एक प्रशासनिक कार्यमात्र नभई यो राष्ट्रको भाग्य र भविष्य कोर्ने, ऐतिहासिक तथा लोकतन्त्रको आत्मालाई सशक्त बनाउने महान् राष्ट्रिय पर्व हो’ ज्ञापन पत्रमा भनिएको छ ‘यो दिन नागरिकको आवाज मतपत्र मार्फत बोल्ने दिन हो । त्यसैले निर्वाचनलाई सहज र व्यापक सहभागितामूलक बनाउनु राज्यको सर्वोच्च दायित्व हो ।’
ज्ञापन पत्रमा फागुन १८ गते पहाडी क्षेत्रमा होली, १९ गते तराई क्षेत्रमा होली परेकोले यि दुवै दिन देशभरीनै बिदा दिनु पर्ने माग छ । यस्तै, २० गते निर्वाचनको अघिल्लो दिन भएकाले बिदा दिनु पर्ने, २१ गते निर्वाचनको दिन सार्वजनिक बिदा हुने, २२ गते शुक्रवार भएका हुँदा आफ्नो गन्तव्यमा फर्कनका लागि समय दिईनु पर्ने माग गरिएको छ । २३ गते शनिबार पर्छ ।
अरु सवै सार्वजनिक बिदानै परेको हुँदा फागुन २० र २२ लाई सरकारले निर्णय गरी बिदा दिनु पर्ने ज्ञापन पत्रमार्फत माग गरिएको स्थानीय युवा साजन बोहरा वताउँछन् । यसरी ५ दिनसम्म बिदा दिईएमा कामको लागि घरबाहिर रहेकाहरुले मतदान गर्न पाउने बोहरा वताउँछन् ।
उनले नेपालको भौगोलिक बनावट, यातायातको अवस्था, रोजगारीको स्वरूप र देशभरका विविध पेशा÷उद्योगलाई ध्यानमा राख्दै सरकारले यो निर्णय गर्न आवश्यक रहेको वताए ।
‘विदेशमा रहेका नेपाली नागरिकलाई तत्काल मतदानको वातावरण बनाउन नसकिएपनि देशभित्रै रहेकालाई त मतदान गर्ने वातावरण वनाईदिनु प¥यो’ बोहराले भने ‘यसले देशव्यापी मतदाता सहभागिता उल्लेख्य रूपमा बढ्नेछ ।’ मतदानको समयमा हतार, भीडभाडले सडक दुर्घटनाको जोखिम पनि बढ्ने भएका कारण सरकारले बिदा दिनु पर्ने वताए ।
‘लोकतन्त्रलाई बलियो बनाउन, नागरिकको मताधिकार सुरक्षित गर्न र आगामी निर्वाचनलाई ऐतिहासिक रूपमा सफल बनाउन फागुन १८ देखि २३ गतेसम्म निरन्तर सार्वजनिक बिदा घोषणा गरिदिनुहुन विनम्र अनुरोध छ’ ज्ञापन पत्रमा भनिएको छ । ज्ञापन पत्रलाई हलो सरकारमा पनि पठाईएको बोहराको भनाई छ ।
