
चैत ३, डोटी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका-३ कानाचौरामा से १ च १५१७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला पहरी कार्यालय डोटीका अनुसार इनाडाबाट कैलालीतर्फ जाँदै गरेको जिप मङ्गलवार (आज) बिहान करिब १० बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा परि घाइते हुनेमा जिप चालक कैलालीको गौरीगंगा नगरपालिका-९ का २८ वर्षीय सन्तोष सापकोटा, कैलालीको घोडाघोडी नगरपालिका-२ का ४५ वर्षीय योगेश बिनाडी, डोटीको बोगटान फुड्सिल गाउँपालिका-३ कानाचौरका १७ वर्षीय नरेश साउँद र अछामको ढकारी गाउँपालिका-३ का १५ वर्षीय जनक बुढा रहेका छन् । प्रहरीले दिएको जानकारी अनुसार विनाडी र साउदको अवस्था गम्भीर रहेको छ भने अन्य दुई जनाको अवस्था मध्यम रहेको छ ।
घाइते सबैलाई उपचारका लागि धनगढीतर्फ पठाइएको छ । बोलेरो जिप उकालोमा ब्याक हुँदा करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनाको थप अनुसन्धानका लागि प्रहरी चौकी चवराचौताराबाट प्रहरी हवल्दार पदमराज जोशीको कमाण्डमा ४ जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।

