एचआइभी रोकथाम, परीक्षण, उपचार तथा हेरचाह सेवामा एएचएफको योगदान महत्त्वपूर्ण 

चैत १०, धनगढी । एचआइभीको सङ्क्रमण रोकथाम, परीक्षण, उपचार तथा हेरचाह सेवामा एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ)को भूमिका महत्त्वपूर्ण रहेको कुरामा जोड दिइएको छ । सोमवार कैलालीको धनगढीमा स्वास्थ्य निर्देशनालय डोटीले आयोजना गरेको मिडियासँगको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले सुदूरपश्चिम प्रदेशमा एचआइभी रोकथाम, परीक्षण, उपचार तथा हेरचाह सेवामा एएचएफले गरिरहेको कार्य प्रभावकारी रहेको बताएका हुन् ।
राष्ट्रिय तथा सुदूरपश्चिम प्रदेशमा एचआइभीको वर्तमान अवस्था, जोखिम समूह, सेवा उपलब्धता तथा चुनौतीहरूको बारेमा सञ्चार माध्यम मार्फत जानकारी गराउने उद्देश्यले धनगढीमा मिडिया सँग अन्तरक्रिया कार्यक्रम एएचएफ नेपालको आर्थिक सहयोगमा स्वास्थ्य निर्देशनालय डोटीले आयोजना गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका एचआइभी फोकल पर्सन मनोज ओझाले सुदूरपश्चिममा एचआइभीको वर्तमान अवस्था, जोखिम समूह, उपलब्ध सेवा तथा चुनौतीहरूबारे विस्तृत जानकारी प्रस्तुत गर्नु भएको थियो ।
प्रस्तुतीकरणमा सुदूरपश्चिम प्रदेशलाई उच्च प्रभावित क्षेत्रको रूपमा उल्लेख गर्दै विशेष गरी भारतमा हुने वैदेशिक रोजगारी (माइग्रेसन) का कारण सङ्क्रमणको जोखिम उच्च रहेको बताइएको थियो । भारत जाने श्रमिक, उनीहरूका जीवनसाथी, महिला यौनकर्मी, लागु औषध प्रयोगकर्ता तथा समलिङ्गी पुरुष प्रमुख प्रभावित समूहका रूपमा पहिचान गरिएका छन् ।
Sayalb
सुदूरपश्चिम प्रदेशमा १९ वटा एचआइभी परीक्षण तथा परामर्श केन्द्र, १९ वटा एआरटी सेवा केन्द्र, ३ वटा भाइरल लोड परीक्षण केन्द्र तथा टिभी एचआइभी एकीकृत सेवा उपलब्ध रहेको जानकारी प्रस्तुत गरिएको थियो । सुदूरपश्चिममा प्रदेशमा हाल ३ हजार ८१२ जना एचआइभी सङ्क्रमितहरू रहेका छन् ।
अन्तरक्रिया कार्यक्रममा एएचएफ नेपालले गरिरहेको कार्यको बारेमा पनि जानकारी गराइएको थियो । एएचएफ नेपालले एचआइभी रोकथाम, परीक्षण, उपचार तथा हेरचाह सेवामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । एएचएफ एक अन्तर्राष्ट्रिय संस्था हो, जसले विश्वका ५० देशहरूमा एचआइभी तथा एड्स सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपालमा एएचएफले १९ वटा एआरटी केन्द्रहरू तथा २ वटा सीमा नाकाहरूमा सहकार्य गर्दै सेवा सुदृढीकरणमा सहयोग गर्दै आएको छ भने सुदूरपश्चिम प्रदेशमा ४ वटा एआरटी केन्द्रमार्फत प्रत्यक्ष सहयोग प्रदान गरिरहेको छ । यसका अतिरिक्त एएचएफले समुदाय स्तरमा जनचेतना अभिवृद्धि, जोखिम समूह लक्षित कार्यक्रम, परीक्षण सेवाको विस्तार, तथा गुणस्तरीय औषधि र उपचार सेवामा पहुँच सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
कार्यक्रममा सहभागी मिडियाकर्मीहरूले एचआइभी रोकथाम, परीक्षण सेवाको विस्तार, उपचारमा पहुँच तथा समाजमा रहेको लाञ्छना र भेदभाव न्यूनीकरणका विषयमा जिज्ञासा तथा सुझावहरू राखेका थिए । अतिथिहरूले मिडियाको भूमिका सही सूचना प्रवाह, जनचेतना अभिवृद्धि तथा एचआइभी सम्बन्धी लाञ्छना र भेदभाव न्यूनीकरणमा अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रमको अध्यक्षता सामाजिक विकाश मन्त्रालय नीति, कानुन, मापदण्ड, योजना तथा जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश मलासीले गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले राख्नु भएको थियो । अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तालिम केन्द्रका महानिर्देशक, प्रदेश स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख, नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष, सेती एआरटी  केन्द्र सम्पर्क  व्यक्ति तथा मिडिया प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
Shaileshwori
Loading...