डोटीको दुर्गम क्षेत्र सायलको कौराडीमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापना

प्रेम नेपाली /मंसिर १७, डोटी ।

भौगोलिक रुपमा दुर्गम क्षेत्र डोटीको सायल गाउँपालिका वडा नम्बर १ कौराडीमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापना गरिएको छ ।
उक्त इकाइ केन्द्रको बुधबार सायल गाउँपालिका अध्यक्ष तेज बहादुर डुम्रेलले उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष डुम्रेलले जनताको समस्यालाई मध्येनजर गरी आफुले चुनावको बेला गरेका वाचाहरु एकएक गरि पूरा गर्न विकासमा लागि परेको बताए । साथै स्थापना गरिएको इकाइ केन्द्रको स्तरोन्नतिका लागि आगामी दिनमा पनि पूर्ण सहयोग रहने उनले प्रतिबद्धता जनाए ।
उद्घाटन कार्यक्रममा बोल्दै सायल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिवराज जोशीले आगामी दिनमा यसै सामुदायिक स्वास्थ्य इकाइ केन्द्रमा नै छिट्टै बर्थिङ्ग सेन्टर सञ्चालन गरिने र यस क्षेत्रका महिलाहरुले सुत्केरी सेवाका लागि बाहिर जान नपर्ने बताए ।
स्वास्थ्य सँस्थाको पहुँचबाट निकै टाढा रहेको कौराडीमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापना भएसँगै स्थानीय बासिन्दा हर्षित भएका छन् ।
विगतका दिनहरुमा स्वास्थ्य सेवा लिनका लागि मानिसहरुले घण्टौंसम्म हिडेर छपाली स्वास्थ्यचौकी जानुपर्ने वा आदर्श गाउँपालिका वडा नम्बर ७ दहकालिकास्थान धाउनुपर्ने बाध्यता अब टरेको छ ।
जसको बढी मारमा गर्भवती महिलाहरु पर्ने गरेका थिए ।
कौराडी गाउँमै स्वास्थ्य इकाइ केन्द्र स्थापना भएकोमा सोको स्थापनाका लागि सहयोग गर्ने गाउँपालिका नेतृत्वलाई स्थानीयले विशेष धन्यवाद दिएका छन् ।

Sayalb

सामुदायिक स्वास्थ्य इकाइ केन्द्रबाट कौराडी, घट्टेखोला, पारिवाटा, तेलपारा, तलिगाउँ लगायत क्षेत्रका करिब १५ सय बढी मानिसहरू लाभान्वित हुने सो वडाका सहायक कर्मचारी करन देउवाले बताए ।

सो सामुदायिक स्वास्थ्य इकाइ केन्द्रका लागि सायल गाउँपालिकाले गत वर्ष नै एक जना अनमी र एक जना अहेव कर्मचारी छनौट गरिसकेको थियो ।
जिल्ला समन्वय समिति डोटीका सदस्य एवं सो इकाइ केन्द्रका स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष सग्राम नेपालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

Shaileshwori
Loading...