सिलगढी बजारमै ६ महिना देखी अवरुद्ध सडक सुचारु भएन
टेक साउद डोटी : डोटी सदरमुकाम सिलगढी नाचनथली बजार जोड्ने सडक अबरुद्ध भएको ६ महिना देखी अवरुद्ध रहेको छ । नाचन्थली हुँदै मुख्य बजार प्रवेश गर्ने सडक भत्किएको आधा वर्ष हुँदा समेत सरोकारवालको ध्यान नजाँदा पुनर्निर्माण हुन सकेको छैन ।
६ महिनासम्म सडक नबन्दा आवतजावत गर्ने गाडी तथा मोटरसाइकल यात्रुले सास्ती भोग्नु परेको छ ।हाल उक्त सडकबाट जिप तथा मोटरसाईक समेत आवातजाबत बन्द भएको छ । २०७७ साल श्रावण ४ गते पहिलो पहिरोका कारण सडक अवरुद्ध भएका स्थानीय तथा सङ्घीय समाजवादी पार्टी जिल्ला अध्यक्ष श्रीचन्द्र श्रेष्ठले बताए । श्रेष्ठले भने ‘ यही पहिरोका कारण हाम्रो घर पनि जोखिममा छ, तर पटक पटक हामीले दिपायल सिलगढी नगरपालिका र निमार्ण कम्पनीलाई अनुरोध गरेका छौँ तर कसैले पनि सुनेका छैनन् ।’
त्यही बाटो भएर जिल्ला अस्पताल जाने बिरामी तथा गर्भवती महिलाहरू पनि प्रभावित भएका छन् । सडकको मर्मत नहुँदा ब्यापारीहरु लाई दैनिक उपभोग्य वस्तु ओसार पसारमा पनि समस्या परेको स्थानीय जगत खड्काले बताए ।
लामो समय सम्म पनि भत्किएको सडकको पुनर्निर्माणका लागि सम्बन्धित निकायले वास्ता नगरेको थापा मेडिकलका सञ्चालक नवराज थापाले बताए । ‘सबै आउँछन् भत्किएको सडक हेर्छन जान्छन मर्मतको कुनै पहल गर्दैनन् ,समयमा यसको बारेमा सरोकारवाला निकायले ध्यान नदिँदा अझै बिग्रिने खतरा छ ।’
समयमै निमार्ण हुन पर्ने उक्त सडक ढिला भएको वडा अध्यक्ष सन्तोष बोहरा स्वीकार गर्छन् । बोहराले भने ‘ विविध कारण बस मर्मत ढिला भएको र उक्त ठाउँमा सडक मर्मतको कार्य एक साता भित्रै सुरु हुने छ ।’
सिलगढी बजारमा सडक निमार्णको काम गरिरहेको के एस कन्स्ट्रक्सन निर्माण कार्यमा ढिलासुस्ती हुँदा उक्त समस्या यहाँका स्थानीयले बेहोर्नु परेको छ ।