सुरक्षित गर्भपतन सेवा सम्बन्धी ३ दिने तालिम सुरु

तेजु ओली /डोटी
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य महिलाको मौलिक अधिकार हो “ भन्ने मूल मन्त्रका साथ किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतन सेवा सम्बन्धी शिक्षकलाई ३ दिने तालिम सुरु भएको छ । दिपायल सिलगढी नगरपालिका वडा नं ४ पीपल्ला स्थित वर्षा होटलमा सामुदायिक विकास मञ्च सिडीएफको आयोजनामा तालिम सुरु भएको हो । संस्थाका अध्यक्ष खडकराज शर्माको अध्यक्षतामा सुरु भएको कार्यक्रममा शिक्षक, स्वास्थ्यकर्मी, प्रशिक्षक सहितको सहभागिता रहेको छ । समाजमा विभिन्न कारणले गर्दा किशोराअवस्थामा नै विवाह गर्ने चलन धेरै छ । यस अवस्थामा विवाह गर्नाले बिभिन्न प्रकारका नकारात्मक असरहरु देखा पर्ने गरेको सहभागीले बताएका छन् ।

कम उमेरमा नै गर्भवती हुने र यसबाट विभिन्न जटिलताहरु भोग्नु पर्ने, उचित शिक्षा तथा आवश्यक सीप सिक्ने तथा वृत्ति विकासको अवसर गुम्ने, लगायतका समस्या हुने गरेको बताइएको छ। माथि उल्लेखित कारणले गर्दा सकेसम्म किशोरावस्थामा विवाह गर्नु राम्रो होइन र यदि विवाह भएमा पनि उमेर नपुगी बच्चा जन्माउनु राम्रो होइन । बीस वर्ष पुगे पछि मात्र पहिलो बच्चा पाउनु उपयुक्त हुन्छ । यसको लागि दम्पतीले आफुलाई उपयुक्त हुने परिवार नियोजनको उपाय अपनाउनु पर्छ भन्ने जानकारी दिनु पर्ने तालिमले बताएको छ ।
