डोटीमा भएन कोरोना भाइरस सङ्क्रमण रोकथामको पर्याप्त तयारी

तेजु ओली/डोटी: जिल्लामा कोरोनो सङ्क्रमण रोकथाम तथा उपचारको तयारी प्रभावकारी रुपमा तयारी हुन सकेको छैन । दिनैपिच्छे जसो छिमेकी मुलुक भारत लगायत देशका बिभिन्न स्थानबाट स्थानीयहरु जिल्ला भित्र आउने क्रम बढीरहेको भए पनि जिल्ला बाहिरबाट आउने ब्यक्तिहरुको तथ्याँक लिने ब्यवस्थापन गर्ने लगायतका कार्यको सूरुवात गरिएको छैन ।
भारतबाट घर फर्किएकाहरुलाइ होमक्वारेन्टाइनमा बस्न भनिएको भए पनि जथाभावी गाउँगाउँमा डुल्ने गरेको पाइएकोे छ । भारतबाट आएकालाइ केहि दिन अलग्गै बस्न आग्रह गर्दा उल्टै गाली गर्छन, हामीले त नसक्ने नै भयौं, सरकारी स्तरबाट कुनै प्रयास नदेखिएको तर्फ गुनासो गर्दै दिपायल सिलगढी नगरपालिका –४ का कृष्ण कठायतले भन्नुभयो,–‘यो बर्ष त न चेकजाँच छ, न कुनै सङ्क्रमण रोकथामको ब्यवस्था सरकारले पनि हेरेको छैन, सबै जना एकै पटक ठुलो सँकट आएपछि मात्र सचेत हुन्छन् जस्तो छ ।’

अघिल्लो बर्ष भारत लगायत तेस्रो मुलुकबाट आएकाहरुको ब्यवस्थापनमा सक्रिय देखिएका स्थानीय तहका जनप्रतिनिधीहरु समेत यस बर्ष सुस्त देखिएका छन् । कोरोना सङ्क्रमण रोकथाम तथा उपचारका नाममा डोटी जिल्लाका नौ वटा स्थानीय तहहरुले गत आर्थिक बर्षको फागुन देखि असार सम्म पाँच महिनाको अवधीमा करिब १२ करोड रुपियाँ खर्च गरेका थिए । तत्कालिन समयमा कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचारका लागि क्वारेन्टाइन, आइसोलेसन लगायतका बिषयमा रकम खर्च गरेको बताइएको थियो ।
कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गत बर्ष निर्माण गरिएका कुनै पनि संरचना यस बर्ष देखिदैनन् । जिल्ला प्रशासन कार्यालय डोटीले केही दिन अगाढी सूचना प्रकाशित गरी सर्वसाधारणमा आबश्यक स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह गरेको थियो । डोटीका प्रमुख जिल्ला अधिकारी सुनील खनालले भन्नुभयो, – ‘तयारी भइरहेकै छ, सार्वजनिक स्थानमा मास्क लगाए नलगाएको अनुगमन गर्ने देखि स्थानीय तह सँगको समन्वय गर्ने कार्य भइरहेको छ । नेपाल सरकार मन्त्रिपरिषदले गरेको निर्णय अनुसार नै हामी अगाढी बढिरहेका छौं ।’
