डोटीमा शुक्रवार दुई जना कोरोना सङ्क्रमितको मृत्यु, मृतकको संख्या ५ पुग्यो
डोटी : डोटीमा एकै दिन दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । शुक्रवार दुई जनाको मृत्यु भएको जिल्ला अस्पताल डोटीले जानकारी दिएको छ । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ की ९६ र ७० वर्षीया कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको कोरोना फोकल पर्सन राजेन्द्र फुलाराले जानकारी दिनुभएको छ ।
९६ वर्षीय महिलाको विहान साढे सात बजे र ७० बर्षीय महिलाको दिउँसो साढे ३ बजे ज्यान गएको फुलाराले जानकारी दिनुभयो । मृतक दुवै जनामा निमोनियाको समस्या रहेको थियो । ९६ वर्षीय महिला बैशाख २८ गते र ७० वर्षीया महिला बिहिवार अस्पताल भर्ना भएको अस्पतालले जनाएको छ ।
यो संगै जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।