लगातारको जनगुनासो पछी डोटीमा बजार अनुगमन, सामान्य किसिमका बस्तुमा सिमित
डोटी- जिल्ला प्रशासन कार्यालय डोटीद्वारा बजार अनुगमन गरिएको छ । कोभिड १९ कोरोना भाइरसले देश आक्रान्त भएको समयमा खाद्यान्न देखि दैनिक उपभोग्य सामाग्रीहरूमा स्थानीयले बारम्बार गुनासो पोखेपछि आज बजार अनुगमन गरिएको हो ।
जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं। ४ पिपल्ला बजार र राजपुर बजारका बिभिन्न पसलहरुमा खाद्यान्न बस्तुको र अन्य उपभोग्य सामाग्रीहरूको मृल्य बृद्धि गरेको जनगुनासो र म्याद गएका सामाग्री बिक्री वितरण गरेको भन्दै बजारमा रहेका विभिन्न ठुला साना पसलमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय डोटी का सहायक प्रमुख जिल्ला अधकारि किरण जोशिले जानकारी दिनु भएको छ ।
विषेश गरि प्रशासनले नरिवल लड्डु, चाट मसला, मिट मसला, जिरा, तेल, मेथी, बिस्कुट लगायतको अनुगमनमा गरिएको हो ।
बजार अनुगमनको क्रममा पसल फर्म दर्ता, ईजाजत, कर कार्यालयमा दर्ता, करचुक्ता, नापतौल, लगायतको सामान्य निरिक्षण गरिएको बताउनु भयो । जोशिका अनुसार धेरै जसो पसलहरुमा म्याद नाघेका सामान र अन्य सामान संगै राखिएको, लेवल वस्तु, आवश्यकता भन्दा बढी सामान ब्यापारीले स्टक राखिएको भेटिएको हो। त्यस्तो बजार अनुगमन गर्दा अखाद्य बस्तु करिब पाँच हजार बराबरको सामान बरामद गरिएको बताईएको छ ।
व्यापारी तथा व्यावसायिलाई कानुन विपरीत कार्य नगर्न पहिलोपटक चेतावनी दिई कानुन बमोजिमका मापदण्ड पालना गर्न निर्देशन दिईएको बताईएको छ ।
जनस्थर बाट कालोबजारिको धेरै गुनासो आएपछी बल्ल जिल्ला प्रशासन कार्यालय डोटीको पहलमा डोटीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, प्रशासकीय अधिकृत मधुकृष्ण पौड्याल, खाद्य प्रबिधि तथा गुणस्तर बिभागका प्रतिनिधि, नगर पालिकाका प्रतिनिधि र उद्योग बाणिज्य संघ डोटीका प्रतिनिधिहरु मिलेर बजार अनुगमन गरिएको हो ।