बिहिवार डोटीका थप १० जनामा कोरोना पुष्टि, ५० जनाले कोरोना जिते

बिहिवार डोटीका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८ आरटिपिसिआर परिक्षण गर्दा ४ जना र १७ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । आज कोरोना देखिनेमा ४ जना महिला र ६ जना पुरुष रहेका छन । यो संगै जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या दुई हजार ७ सय ४२ पुगेको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्धव वहादुर ठगुन्नाले जानकारी दिनु भयो ।
आज पुर्विचौकी गाउँपालिका र जोरायल गाउँपालिकाका दुई/दुई जना पुरुष, दिपायल सिलगढी नगरपालिकाका एक महिला, एक पुरुष, बडीकेदार गाउँपालिकाका दुई जना महिला, आदर्श गाउँपालिकाका एक जना पुरुष र सायल गाउँपालिकाका एक महिलामा कोरोना देखिएको हो ।

नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण फैलिए देखि डोटीका एक हजार तिन सय २१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । अहिले जिल्लामा दुई सय ३६ जना सक्रिय संक्रमित रहेका छन् ।त्यस्तै विभिन्न पालिकाका ५० जनाले कोरोना जितेका छन् ।
