पर्यटकिय क्षेत्र खप्तडमा रिसोर्ट संचालनका लागि अध्ययन गर्न एक विज्ञ टोली डोटी पुग्यो

डोटी : भूस्वर्गको रुपमा परिचित धार्मीक तथा पर्यटकिय क्षेत्र खप्तडमा रिसोर्ट संचालनका लागि एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । आईतवार डोटी जिल्लाको सदरमुकाम सिलगढी स्थित दिपायल सिलगढी नगरपालिकाको सभाहलमा विभिन्न व्यक्तित्वहरुको बिचमा अन्तरकृया तथा छलफल भएको हो ।
सरोकारवाला निकायले खप्तडमा पर्यटक भित्र्याउन थुप्रै योजना अघाडी सारेको भएपनि त्यहाँ खाने बस्ने ठाउँ नहुँदा पर्यटक समस्यामा पर्ने गरेका छन् । सो समस्यालाई मध्येनजर गर्दै एकै दिन १ सय पर्यटकले बस्न खान सक्ने वातावरण भएको नमुना रिसोर्ट बनाउने योजना सहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तारा गाउँ विकास समितिको विज्ञ टोली डोटी पुगेको छ । तारा गाँउ विकास समिति सदस्य शिव लामिछाने, सामाजिक तथा आर्थिक विज्ञ डा.आलोक प्रसाई, पर्यटन विज्ञ प्रणव थापा, इन्जिनियर इन्दु ज्ञवाली सम्मिलित टोली डोटी पुगेको हो ।

एक दिने अन्तरक्रिया कार्यक्रममा तारा गाँउ विकास समितिका सदस्य शिव लामिछानेले खप्तडमा रिसोर्ट बारेमा प्रकाश पार्नु भएको थियोे । उपस्थित सहभागीहरु सबैले खप्तडमा पर्यटक लोभ्याउने उदेश्यले ल्याइएको योजना स्वागत योग्य भएको बताएका छन् ।
बिचपानी देखि खप्तड सम्मको बिचमा सम्भाव्यता अध्ययन गर्नको लागि अनुमति लिएर अध्ययन टोली आजै उक्त क्षेत्रमा प्रस्थान गरेको डोटी चेम्बर अफ कमर्सका सचिव तेज डुम्रेलले जानकारी दिनुभयो ।
छलफलमा जिल्ला समन्वय समितिका संयोजक राम बहादुर ऐर, उपसंयोजक सशि सोव, दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासी, प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी उपरीक्षक दान वहादुर मल्ल लगायत जिल्लामा क्रियाशिल विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
