शिक्षक सेवा आयोगको बिज्ञापन खुलाउने तयारी
शिक्षक सेवा आयोगको शिक्षकको पद पुर्तीका लागी बिज्ञापन खुलाउने तयारी गरिएको आयेगका सुचना अधिकारी सुदोर्सन मरहट्टाले बताउनु भयो । उहाका अनुसार १७ हजार २ शय २३ पद पुर्तीका लागि बिज्ञापन खुलाउने तयारी गरिएको छ ।
तथ्यांकअनुसार निम्न माध्यमिक विद्यालयमा अंग्रेजी विषयमा ६ सय २२, नेपालीमा ४ सय ३६ र विज्ञानमा ४ सय ४० दरबन्दी रिक्त रहेको छ । माध्यमिक विद्यालय तहको विज्ञान ४ सय ३३, अंग्रेजीमा ३ सय १३ र नेपाली २ सय ३० शिक्षक दरबन्दी रिक्त रहेको छ । त्यस्तै, ऐच्छिक विषयमा १ हजार ५ सय ४२ शिक्षक पद रिक्त छ ।
केन्द्रले शिक्षक सेवा आयोगमा पठाएका विवरणअनुसार निमावि र माविमा नेपाली र विज्ञान विषयमा धेरै शिक्षक दरबन्दी अभाव देखिएको तथ्यांकमा उल्लेख छ । आयोगले शिक्षक पदमा खुला प्रतिस्पर्धाका लागि केन्द्रसँग आवश्यक पदपूर्ति गर्न रिक्त शिक्षकको संख्या माग गरेको थियो ।
केन्द्रले आयोगमा पेस गरेको तथ्यांकअनुसार सबैभन्दा बढी प्रावि तहमा १२ हजार ९ सय १२ दरबन्दी रिक्त छन् । मावि तहमा १ हजार ५ सय ४२ र निमाविमा २ हजार ५ सय ९३ पदमा खुला विज्ञापन गरी शिक्षकको पदपूर्ति गर्नेछ । दरबन्दीअनुसारको विज्ञापन गर्दा खुलातर्फ निमाविको सामाजिक शिक्षामा ३ सय ५२, विज्ञानमा ३ सय ६४, गणितमा ३ सय ७० दरबन्दी रिक्त छ । सदस्य सचिव श्रेष्ठले पदपूर्ति खुला गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।
आयोगमा पुगेको विवरणअनुसार माध्यमिक तहमा नेपाली २ सय ३०, सामाजिकमा २ सय १, गणित २ सय २८ शिक्षक दरबन्दी रिक्त रहेको विवतरण आयोगमा पठाएको छ । यसैबीच शिक्षक विज्ञापन गर्ने तयारीसँगै केन्द्रले जिल्लान्तर सरुवा रोक्का गरेको छ । केन्द्रले शिक्षकको परीक्षा र आन्तरिक बढुवा गर्नुपर्ने भएकाले हाललाई जिल्लान्तर सरुवा रोक्का गरेको केन्द्रका शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्तप्रसाद कोइरालाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
शिक्षक दरबन्दी मिलान व्यवस्थापन कार्यविधि–२०७६ बमोजिम खुद पुल दरबन्दी भएका जिल्लाबाट खुद पुल दरबन्दी रहेका तहका शिक्षकलाई केन्द्रले तोकेका जिल्लाअन्तर्गतका स्थानीय तहमा दरबन्दी मिलान गर्दा दरबन्दीसहित जिल्लान्तर सरुवा गर्न सक्ने व्यवस्था यथावत राखिएको छ ।
केन्द्रले ७७ वटै जिल्लाका विवरणसहित विज्ञापन गर्न आयोगमा पत्राचार गरेको छ । आयोगले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको नियुक्ति हुनासाथ विज्ञापन गर्ने तयारी थाल्ने भएको छ । शिक्षक सेवा आयोगको विनियमावली संशोधन नभएकाले विज्ञापन खोल्ने समस्या देखिएको छ । मन्त्री नियुक्त हुनासाथ सो नियमावली संशोधन गरी विज्ञापन खोल्ने मन्त्रालयको भनाइ छ ।