युएसएसबिएम डोटीद्धारा शिखर नगरपालिकालाई एक लाख बराबरको सामग्री हस्तान्तरण
डोटी : उपेक्षित समुदाय सशक्तिकरण तथा विकास मञ्च (युएसएसबिएम) डोटीले शिखर नगरपालिका अन्तर्गत रहेको सामुदायिक सुचना केन्द्रलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ । बुधबार मुक्त हलिया तथा आन्तरिक विस्थापित समुदायको आर्थिक तथा सामाजिक अधिकार प्रवद्धनका लागि सामुदायिक परियोजना २ अन्तर्गत लुथरन विश्व फेडरेसन नेपाल र ईएलसिएको सहयोगमा करिब एक लाख बराबरका सामग्री हस्तान्तरण गरिएको हो ।
युएसएसबिएम का अध्यक्ष टीका सिंह नेपालीले नगरपालिकामा रहेको केन्द्रका लागि भनेर एक कार्यक्रमका बिच शिखर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सिद्ध बलायरलाई सामग्री हस्तान्तरण गरेका हुन् ।
सामुदायिक सुचना केन्द्रलाई सामग्रीको आवश्यकता होला भन्ने महसुस गरेर केेहीी सहजताको लागि उक्त सामग्री वितरण गरिएको अध्यक्ष नेपालीले बताए । सामग्री बुझ्दै वडा अध्यक्ष बलायरले संस्थालाई धन्यवाद दिए ।
हस्तान्तरण गरिएको सामग्रीमा दुई/दुई ओटाको दरले दराज, टेबुुल तथा कुर्सी र एक डिजिटल बोर्ड रहेका छन् । उक्त परियोजना नगरपालिकाको वडा नम्बर ६, १० र ११ मा लागू रहेको युएसएसबिएम का गणेश कोलीले बताए ।