
डबल बम, डोटी
डोटीको पुर्बिचौकि गाउँपालिकाको झिग्रानामा खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति डोटी र उद्योग वाणिज्य सङ्घ डोटीले खप्तड विकास र प्रचारका लागि एक अन्तरक्रिया कार्यक्रम गरेका छन् । भू स्वर्गका नामले परिचित खप्तडको विकास तथा प्रवर्द्धनका साथै खप्तडमा आन्तरिक र बाह्य पर्यटकलाई के गर्दा खप्तडमा भित्र्याउन सकिन्छ भन्ने विषयमा कार्यक्रममा छलफल गरिएको थियो ।
खप्तड क्षेत्र पर्यटन विकासका कार्यकारी निर्देशक भीम बहादुर खड्काले आगामी आर्थिक वर्षका योजना तथा उद्देश्यको समेत सबैलाई जानकारी गराएका थिए । उनले खप्तडलाई अन्तर्राष्ट्रिय म्याराथन बनाउने, खप्तड बाबाको समाधि स्थल बनाउने, राष्ट्रिय अन्तर्राष्ट्रिय चलचित्र निर्माताहरुलाई बोलाई खप्तडमा चलचित्र सुटिङ गराउने, होम स्टेको व्यवस्था, मध्यवर्ती क्षेत्रका मानिसलाई होम स्टे सम्बन्धी तालिम दिने, ध्यान केन्द्रित स्थानीय सामाग्रीबाट बनेको गृह बनाउने योजना कार्यक्रममा प्रस्तुत गरे ।

कार्यक्रममा सहभागीले खप्तड विकास र प्रवर्द्धनका लागि ९ बुँदे प्रतिबद्धता जनाएका छन् । उनीहरूले बिजपानि सम्म सडक, बाह्य पर्यटकका लागि पैदल ट्र्याकिङ्ग, बिच बिचमा सही सङ्केत तथा पथ प्रदर्शकको व्यवस्था गरिनु पर्ने कुरा जोड पनि दिएका छन् ।
उक्त कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख तथा उप प्रमुख, शिखर नगरपालिकाका नगर प्रमुख, पुर्बिचौकि गाउँपालिकाका, आदर्श गाउँपालिका, के आइ सिंह गाउँपालिका र बाजुराको छेडेदह गाउँपालिकाका अध्यक्षहरू, चेम्बर अफ कमर्स डोटी र उद्योग वाणिज्य सङ्घ डोटीका पदाधिकारी तथा पत्रकार लगायतको सहभागिता रहेको थियो ।
