
मोहन ठकुल्ला, डोटी
डोटीको के.आई.सिंह गाउँपालिका वडा नम्बर ४ वायलका स्थानीय नेपाल टेलिकम (नमस्ते) को नेटवर्क जाने समस्याले आजित भएका छन् । सोलारबाट सञ्चालनमा रहेको नेपाल टेलिकमको टावर बाट साँझ बिहान मोबाइलमा नेटवर्क नआउने समस्याले स्थानीय हैरान भएका छन् ।
साँझ घाम अस्ताएपछि मोबाइलमा नेटवर्क जाने र बिहान घाम उदाए पछि मात्रै नेटवर्क आउने गरेको स्थानीय तारा नेपालीले बताए । यो क्षेत्रमा दुई वटा टावर रहेका छन् । एउटा टावर सञ्चालनमा छ भने अर्को टावर बन्द छ । यस्तो समस्या करिब एक वर्षदेखि भोग्दै आएको स्थानीय लक्ष्मी पाण्डेले बताइन् ।
साँझ पर्यो की नेपाल टेलिकम (नमस्ते) को नेटवर्क जाने समस्याले गर्दा फोन गर्न धेरै समस्या हुने गरेको वायल बजारका व्यापारीहरूको गुनासो रहेको छ । वायल गाउँपालिकाको केन्द्र पनि हो । पालिकाको केन्द्रमै यस्तो समस्या हुँदा पनि सरोकारवाला मौन बस्नु दुखद कुरा भएको स्थानीयको भनाइ छ । एनसेलको सिम भएकाले अलि सहज भए पनि एनसेलको पनि नेटवर्क बेलाबेला जाने गरेको स्थानीयले बताएका छन् ।

