
डबल बम, डोटी
भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोबासी भएकाहरूलाई राष्ट्रिय भूमि आयोग डोटीले जग्गा उपलब्ध गराउने भएको छ । शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय भूमि आयोग डोटीले उक्त जानकारी दिएको हो ।

राष्ट्रिय भूमि आयोगले अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रयोजनका लागि स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासिलाई जग्गा उपलब्ध गराउने भएको छ । भूमिहीन सुकुम्वासी , अव्यवस्थित बसोबासीले जग्गा प्राप्तिका लागि भूमि आयोगले तोकेको ढाँचा बमोजिम फारम भरि आफ्नो गाउँपालिका तथा नगर पालिकाको कार्यालयमा ३५ दिन भित्र निवेदन पेस गर्न आयोगले सार्वजनिक सूचना जारी गरेको छ ।
दिपायल सिलगढी र शिखर नगरपालिका, बोगटान फुड्सिल, के।आई।सिंह, सायल, पुर्विचौकी, बडिकेदार र जोरायल गाउँपालिकाका भूमिहीन सुकुम्वासी , अव्यवस्थित बसोबासीले जग्गा प्राप्तिका लागि निवेदन दिन सक्ने छन् ।
