
डोटी : समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीको १६ औँ साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार दिपायल सिलगढी नगरपालिकाको सभा हलमा एक समारोहका बिच गैर सरकारी संस्था सिडको साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको हो ।

सिड नेपाल डोटीका बोगटान फुड्सिल, पुर्विचौकी, सायल, आदर्श जोरायल गाउँपालिका, दिपायल सिलगढी र शिखर नगरपालिका साथै सुदूरपश्चिमका अन्य केही जिल्लामा स्वास्थ्य, शिक्षा, सुशासन लगायतका क्षेत्रमा काम गरिरहेको छ । गाउँपालिका कार्यक्रममा संस्थाका अध्यक्ष यज्ञ राज जोशीले प्रतिवेदन प्रस्तुत गरेका थिए । जोशीले प्रस्तुत गरेको प्रतिवेदनमा सहभागीले गुनासा तथा सुझाव राखेका थिए । गुनासाको अध्यक्ष जोशीका साथै संस्थामा कार्यरत प्रश्नसँग सम्बन्धी व्यक्तिले जवाफ दिएका थिए ।

कार्यक्रममा सहभागी बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ का टेक बहादुर बमले दुखमा रहेको बेला सिड नेपाले सहयोग गरेको बताए । उनले भावुक हुँदै भने “मेरो साथमा कोही नहुँदा सिड नेपाल सहारा बन्यो, त्यति बेला मलाई व्यवसायी बन्न सुझाव आयो, म अहिले होटेल व्यवसाय गर्छु ।” कार्यक्रममा आदर्श गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बम बहादुर खड्काले सिड नेपाल डोटीबाट स्वास्थ्य सम्बन्धी थुप्रै सहयोग पाएको बताए । विभिन्न सङ्घसंस्थाहरू विशेष क्षेत्रमा मात्रै लक्षित हुने हुँदा संस्थाको क्षेत्र फराकिलो हुनुपर्ने उनले बताए ।


सिड नेपालका कारण समूह गठन गरेर आर्थिक कारोबार गर्न थालेको शिखर नगरपालिका वडा नम्बर ६ की भागरथी विकले बताए । मङ्गलपुर आत्म निर्भर समूह गठन गरेको र यसबाट साप्ताहिक रकम सङ्कलन गर्ने गरेको बताइन् । समूहले सङ्कलन भएको रकम अप्ठ्यारोमा परेकालाई सस्तो ब्याजदरमा ऋण दिने गरेको छ । डोटीमा राम्रो छवि भएका धेरै गैर सरकारी संस्थाहरू रहेको बताउँदै त्यस मध्ये सिड पनि एक भएको दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजी खड्काले बताए । जनताका वास्तविक समस्याको विरुद्धमा लाग्नको लागि स्थानीय सरकारसँग पनि समन्वय गर्न आवश्यक रहेका प्रमुख खड्काको भनाई थियो ।

विशुद्ध जनताको सेवाको लागि काम गरेमा त्यसको बाधा कोही हुन नसक्ने जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण सिंहले बताए । विभिन्न कार्यक्रमको लागि कर्मचारी भर्ना गर्दा स्थानीय सरकार सँग समन्वय गरे झन्झट नआउने उनले बताए । आसेपासे भन्दा पनि क्षमतावान् कर्मचारी राख्नतिर लाग्न उनले निर्देशन पनि दिए । कार्यक्रमको समापनमा सिडका अध्यक्ष यज्ञराज जोशीले कार्यक्रममा उठेका प्रश्नलाई आत्मासाथ गर्दै सुझावलाई ग्रहण गर्ने बताए । कार्यक्रमको सहजीकरण पत्रकार रोजेन्द्र जोशीले गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण सिंह, उपप्रमुख स्मृति चुनारा, दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजय खड्का, आदर्श गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी रोकाया, जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मी राज जोशी, पुर्वीचौकी गाउँपालिका वडा नम्बर १ का वडा सदस्य वीर बहादुर खड्का, साझेदार संस्था युनाईटेड मिसन टु नेपाल (युएमएन) डोटीका प्रतिनिधि खेम भण्डारी, गैर सरकारी संस्था महासङ्घका अध्यक्ष लाल बहादुर बिक, इडिसी नेपाल डोटीका अध्यक्ष अधिराज बिसी, विभिन्न पालिका स्थानीय, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
