
डोटी : लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जोगाउन गठबन्धन आवश्यक रहेको डोटी जिल्ला प्रदेश सभा ‘क’ का उम्मेदवार नेपाली काँग्रेस डोटी जिल्ला सभापति नरेन्द्र सिंहले बताए । गठबन्धनले दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति सिंहले गठबन्धनप्रति ढुक्क हुन नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।

गठबन्धनका कारण आसन्न निर्वाचनपछि प्रदेश तथा केन्द्र सरकारको नेतृत्व काँग्रेसले लिन सक्ने भएकाले अहिलेको सानो असमझदारीले निकट भविष्यमा गठन हुने सरकारमा असर पर्न जाने हुनाले गठबन्धनका साझा उम्मेदवारलाई जिताउन उनले आग्रह गरे । “हिजो टिकटको टुङ्गो नलागेसम्म हामीमा एक्लै चुनाव लड्नुपर्छ भन्ने एकमत थियो, त्यसै अनुसार सक्दो प्रयास गर्यौ, सभापति सिंहले भने, तर अहिले परिस्थिति भिन्न भएको छ, हामी गठबन्धनमा छौँ, गठबन्धनका साझा उम्मेदवारलाई जिताउने हाम्रो दायित्व हो ।”
प्रदेश सभा ‘ख’ मा हाम्रो उम्मेदवार भएन भनेर काँग्रेसका नेताहरूलाई भड्काउने प्रयास भइरहेको बताउँदै सिंहले आफू समग्र जिल्लाको पार्टी सभापति भएकाले विकासमा जिल्ला भरिनै हात रहने भएकाले विश्वास गर्न आग्रह गरे । आफु प्रदेश सभा ‘क’ को उम्मेदवार भएपनि बिजयी भएमा जिल्लाभरिका विकास निर्माणका कार्यमा संलग्न रहने उनले बताएका छन् । डोटीको विकासमा आफू प्रतिबद्ध रहेको र अहिले भैैरहेका कार्य र केही नयाँ कार्यलाई साझा मुद्दा बनाउँदै टुुंगोमा पुर्याउने नेता सिंहले बताए ।
