बडिकेदारलाई पर्यटकहरुको प्रमुख आकर्षक गन्तव्य स्थलको रुपमा विकास गर्छौँ : पूर्वमन्त्री आले

डोटी : निर्वतमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा डोटीबाट प्रतिनिधि सभा सदस्यका उमेदवार प्रेमबहादुर आलेले डोटीको बडिकेदारलाई पर्यटकहरुको प्रमुख आकर्षक गन्तव्य स्थलको रुपमा विकास गर्ने बताएका छन । बडिकेदार धार्मिक मेलाका लागि त्यहाँ पुग्नु भएका पूर्वमन्त्री आलेले धार्मिक आस्थाको धरोहरुका रुपमा रहेको बडिकेदार धामलाई थप विकास गरी देशकै प्रमुख पर्यटकिय स्थलका रुपमा विकास गरिने बताएका हुन ।

उनले भने ‘बडिकेदार सबैको साझा धार्मिक स्थल हो, यहाँ देश भित्र तथा छिमेकी मुलुक भारतका भक्तजनहरु पनि आउने गरेका छन्, बडिकेदारलाई सुदूरपश्चिमको प्रमुख पर्यटकिय स्थलको रुपमा विकास गर्छु ।’ निर्वतमानमन्त्री आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनु भएको समय उक्त मन्दिर क्षेत्रमा सिडि निर्माणदेखि थप स्तरोन्नतीका लागि रु १० करोड बजेट विनियोजन गरेका थिए ।
यसैगरी उनले बडिकेदार सहितका डोटीका अन्य धार्मिक स्थल तथा पर्यटकिय क्षेत्रहरुको थप विकास र स्तरोन्नतीका लागि आफुले बजेट विनियोजना गराउने बताउनुभयो । उनले थप भने, ‘डोटीमा धार्मिक स्थलको विकासदेखि सडक, बिद्युतको विकासका लागि आफुले कुनै कसर बाँकी राख्ने छैन, म विकास गर्ने मान्छे हुँ, यहाँका धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास गर्ने म बचन दिन्छु ।’

Sayalb

यहाँ फागुनमा पर्ने महाशिवरात्रि र कात्तिक बैकुण्ठ चतुर्दशीमा हजारौं तीर्थालुको भीड लाग्ने गर्दछ । महाशिवरात्रि भन्दा पनि कात्तिकको बैकुण्ठ चतुर्दशीमा भव्य मेला लाग्ने र दर्शनार्थीको बढी भिड हुने गर्दछ । समुद्री सतहदेखि दुई हजार पाँच सय मिटर उचाइमा रहेको बडिकेदार दक्षिण डोटीको बडिकेदार गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकाको दोसाँधमा पर्दछ । हिन्दू धार्मिक ग्रन्थमा केदार शब्दको कयौं ठाउँमा उल्लेख गरिएको छ । ठुलाठूला ढुंगाको चट्टान रहेको र त्यसैमा श्रीकेदार बाबाको गाथ रहेको छ ।

बडिकेदारको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वासका साथ तराईका आदिवासी थारु समुदाय र भारतको उत्तर प्रदेशका विभिन्न ठाउँबाट वर्सेनी कात्तिक बैकुण्ठ चतुर्दशीमा हजारौं तीर्थालु यहाँ आउने गर्छन् । खोँचमा रहेको बडिकेदार शिलाको दर्शन गर्न पाउनु नै तीर्थालुको मुख्य ध्येय रहने गरेको छ । विभिन्न समुदायका धामी, झाँक्रीले आ– आफ्ना वेषभूषा र बाजागाजासहित सजिएर श्री केदारनाथ बाबाको दर्शन गर्ने र वर्षभरीको भविष्यवाणीसमेत गर्छन् । यो समयमा धामीले आफ्नो दैवीय शक्ति समेत देखाउने गर्छन् । त्यस्तै मगर जातिले रातभर मादलको तालमा बजाउने मारुनी नाँच र कन्छा कान्छीको नाँचले झनै त्यो ठाउँ मनमोहित हुन्छ ।

सुदूरपश्चिमकोे चर्चित डेउडा खेलले मेला झनै रमणिय हुने गर्दछ । मनले इच्छाएको पूरा हुने विश्वासले तराईका आदिवासी थारु समुदाय र भारतको उत्तर प्रदेशका शहर लखिमपुर, पलिया, बरेली, साहजनपुर, खटिमा र सिँगाहीबाट वर्सेनी कार्तिक बैकुण्ठ चतुर्दशीमा हजारौं तीर्थालु यहाँ आउने गरेको बडिकेदारका मुख्य पूजारी सिद्धराज बिनाडीले बताउनुभयो । मेलाको समयमा केदारले सन्तान दिएको भन्दै बालबच्चासहित दर्शन गर्न आउने सयौं दर्शनार्थी त्यहाँ भेट्न पाइन्छ । सन्तानदेखि छोराको पढाइ र फस्टाउँदो व्यापार बडिकेदारकै आर्शीवादले भएको विश्वास गर्छन्, दर्शनार्थीहरु ।

Shaileshwori
Loading...