
डोटी : राष्ट्रिय अभियान (एनसि) नेपालले डोटीका विभिन्न राजनीतिक दलहरूलाई घोषणापत्र तथा चुनावी मुद्दामा समावेश गर्न भन्दै १६ बुँदे ज्ञापन पत्र बुझाएको छ । मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनमा समेट्न आग्रह गर्दै राष्ट्रिय अभियान नेपाले १६ बुँदे ज्ञापन पत्र बुझाएको हो । राजनीतिक दलहरूले आ आफ्नो घोषणापत्र बनाउँदा स्थानीय सरकारको क्षमता अभिवृद्धि हुने गरी शिक्षा अधिकारको प्रत्याभूति गर्न सहयोग पुग्ने गरी आगामी निर्वाचनको निमित्त घोषणापत्रको निर्माण गर्न आवश्यक रहेको एनसिले जनाएको छ ।
आधारभूत तथा माध्यमिक शिक्षामा व्याप्त निजीकरण तथा व्यापारी करणको अन्त्य गर्न निजी तथा नाफामूलक विद्यालयहरूलाई निजी तथा सार्वजनिक गुठीमा परिणत गरिनुपर्ने र नाफामूलक विद्यालयको दर्ता नगर्ने प्रतिबद्धता आउनुपर्ने एनसिले बुझाएको पहिलो बुँदामा समावेश गरेको छ ।
राष्ट्रिय अभियान नेपालले विद्यालयको पहुँचमा पुग्न नसकेका बालबालिकाका निम्ति कम्तीमा पनि १ वटाल आवासीय माध्यमिक तहसम्मको विद्यालय सञ्चालन गर्ने, अपाङ्गता भएका दलित तथा अन्य विद्यार्थीहरूका लागि छात्रवृत्ति तथा सिकाइ सामग्री निःशुल्क उपलब्ध गर्नुपर्ने, समावेशी र समतामूलक शिक्षा पद्धतिलाई आत्मसात् गर्नुपर्ने, ग्रामीण परिवेशमा आधारित प्रविधियुक्त शिक्षाको व्यवस्था गरिनुपर्ने, जोखिम परिस्थितिमा रहेका बालबालिकाको शिक्षा अधिकार सुनिश्चित गर्न सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई फराकिलो बनाई विद्यालय शिक्षासँग जोड्नु पर्ने भनेको छ ।

त्यस्तै विश्वविद्यालयमा उत्कृष्ट विद्यार्थीलाई पेसाप्रति आकर्षित गराउन विशेष सुविधासहित प्रबन्ध गरिनुपर्ने, राजनीतिक दललाई आफ्नो दलको सदस्यता नदिने स्पष्ट व्यवस्था राख्नुपर्ने, संविधान र सङ्घीयताको मर्मबमोजिम शिक्षक छनौट प्रक्रियालाई स्थानीयकरण गर्ने स्थानीय तहका विद्यालयहरूमा शिक्षक–विद्यार्थी अनुपात मिलाउन स्थानीय सरकारले कानुन बनाई शिक्षकहरूको आवश्यक सरुवा गर्न सक्ने र नियुक्ति अनुमोदन गर्ने व्यवस्था गर्नुपर्ने लगायतका बुँदा ज्ञापन पत्रका समेटिएका छन् ।
नेपालमा शिक्षा र बालबालिकाको क्षेत्रमा क्रियाशील गैरसरकारी सङ्घ–संस्था, शिक्षक समुदाय तथा पत्रकारसहित ४६० वटा संस्थाहरूको साझा सञ्जालको रूपमा राष्ट्रिय अभियान नेपाल रहेको छ ।



